सुदूरपश्चिम प्रदेश सभामा उम्मेदवार बनेका स्वकीय सचिव

सुदूरपश्चिम प्रदेश सभामा उम्मेदवार बनेका स्वकीय सचिव

डोटीको प्रदेश सभा २ मा बाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवसिंह ओली प्रतिस्पर्धा गर्दैछन्। 

सो निर्वाचन क्षेत्रमा सत्ता-गठबन्धनबाट प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई माओवादीले उम्मेदवार बनाउने चर्चा थियो। तर २२ गते राति नै मुख्यमन्त्री भट्टको ठाउँमा केन्द्रीय सदस्य ओलीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गर्‍यो। 

मुख्यमन्त्री भट्टको टिकट खोसेर उम्मेदवार बनेका ओली उनकै स्वकीय सचिव हुन्। भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री भएदेखि स्वकीय सचिव रहेका ओली उम्मेदवार हुँदासम्म पनि स्वकीय सचिव नै छन्। 

स्वकीय सचिव हुँदै प्रदेश सभाको उम्मेदवार बन्ने ओली सुदूरपश्चिममा एक्ला हैनन्। उनि सँगै,  प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्न नपाएपनि उनकै स्वकीय सचिव दीर्घराज विनाडी कैलाली- १ को प्रदेश सभा २ मा उम्मेदवार बनेका छन्। 

बिनाडी बाम-लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रुपमा नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका हुन्। बिनाडी पनि बिनिता चौधरी मन्त्री बनेदेखि पाँच वर्षसम्म स्वकीय सचिव रहेका छन्। 

प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा सदस्यका स्वकीय सचिव रहेकाहरुले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्। 

त्यस्तै, कैलाली- ५ को प्रदेश सभा २ मा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाका स्वकीय सचिव प्रकाश देउवा बाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिस्पर्धा गरिरहेका छन्।

धनगढीबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका  प्रकाश बिगत लामो समयदेखि आरजुको स्वकीय सचिवको रुपमा  कार्यरत छन्।

कैलाली- ५ मा चुनाव लड्ने चर्चा भइरहेको बेला आरजु  डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक सूचिमा बसेपछि धनगढीबाट प्रदेश सभा सदस्यमा प्रकाश प्रतिस्पर्धा गर्न लागेका हुन्।

२०७४ सालको निर्वाचनमा कैलाली- ५ बाट कांग्रेस नेतृ आरजु पराजित भएकी थिइन्। प्रकाश प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा हुन्। 

यस्तै, कैलाली- ५ को प्रदेश सभा २ मा नेपाली कांग्रेस बीपीबाट दीपकराज खैरले उम्मेदवारी दर्ता गराएका छन्। उनी वर्तमान सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका प्रदेश सभा सदस्य हुँदा स्वकीय सचिव रहेका थिए। 

त्यस्तै, आफ्नै स्वकीय सचिवसँग चौधरीको प्रतिस्पर्धामा परेका छन्, २०७४ सालमा राष्ट्रिय जनता पार्टीबाट कैलाली निर्वाचन- १ को प्रदेश सभा कबाट निर्वाचित भए कृष्णबहादुर चौधरी। उनी प्रदेश सभा सदस्य बनेपछि कैलाश चौधरी स्वकीय सचिवका रुपमा कार्यरत थिए। करिब दुई वर्ष कृष्णका स्वकीय रहेका कैलाश यस पटकको चुनावमा कृष्णसँग नै प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन्।

नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष समेत रहेका कैलाशले उम्मेदवारी दर्ता गराएसँगै कृष्ण आफनै स्वकीय सचिवसँग चुनावी प्रतिस्पर्धामा रहेका छन्। कृष्णले सोही निर्वाचन क्षेत्रबाट प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।