बझाङ जिप दुर्घटनामा मृत्यु हुने आठ जनाकै सनाखत, १८ घाइते

बझाङ जिप दुर्घटनामा मृत्यु हुने आठ जनाकै सनाखत, १८ घाइते

बझाङको मष्टा गाउँपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुलेको छ । दुर्घटनामा मष्टा गाउँपालिका–२ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १४ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामी कठायत र उनकी ७ महिनाकी छोरी दीक्षिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । 

यस्तै कञ्चनपुर शुक्लाफाटा नगरपालिका ७ का झरेन्द्र बोहरा, सोही नगरपालिका २ बस्ने ३८ वर्षका वीरेन्द्र अधिकारीको मृत्यु भएको छ । बोहरा मष्टा गाउँपालिका ३ मा रहेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालयमा सुरक्षा गार्डको रुपमा कार्यरत थिए ।

बझाङको सदरमुकाम चैनपुर नजिक रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको जिप बुधबार दिउँसो दुर्घटना हुँदा ७ जनाको ज्यान गएको थियो । सु प प्र ०१–००१ च ११७ नम्बरको जिप तुफानडाँडामा दुर्घटनामा परेको थियो । जिप सडकबाट दुई सय मिटर तल भिरमा खसेको थियो । दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घाइतेमध्ये मष्टा गाउँपालिका १ का ३६ वर्षका सिंहबीर बुढाको अवस्था गम्भीर रहेको छ । ६३ वर्षका मणिबहादुर सिंह र १० वर्षीय बालक विशाल खड्कालाई रिफर गरिएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यसका साथै, रिफर गरिएकि  ५० वर्षीया सिन्की भण्डारीको झोतामा मृत्यु भएको छ।