डडेल्धुरामा चैतमा पनि जुनार

डडेल्धुरामा चैतमा पनि जुनार

डडेल्धुरा : देशका अन्य जिल्लामा जुनार सकिनै लाग्दा पनि डडेल्धुरामा भने चैतको अन्तिम सातासम्म पनि सहजै पाइने गरेको छ । जिल्ला सदरमुकामको बागवजार बसपार्क र स्याउले बजारमा आजभोलि पनि सहजै रूपमा जुनार पाइने गरेको हो ।

जिल्लाको भागेश्वर गाउँपालिका–५ चुल्ल र शिराड गाउँमा उत्पादन हुने जुनार स्याउले वजार र बसपार्क क्षेत्रमा बिक्री हुने गरेको छ । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको प्रवेश द्वारका रूपमा रहेको डडेल्धुराको स्याउले बजार जिल्लामा उत्पादन हुने जुनार बिक्री गर्ने प्रमुख केन्द्र हो । डडेल्धुरामा जुनार प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको स्थानीय व्यापारी डम्मर भट्टले जानकारी दिए । पहाडि जिल्लामा मौसमले साथ दिएकाले अहिलेसम्म जुनार ताजा रहेको उनको भनाइ छ । 

तराईका जिल्लासहित देशका अन्य भाग र सुदूरपश्चिम प्रदेशकै अन्य पहाडि जिल्ला जाने यात्रुले पनि स्याउले बजार र बसपार्क क्षेत्रबाट कोसेलीका रूपमा जुनार लग्ने गरेका छन् । यहाँका व्यापारीले एकै सिजनमा ५ लाख रुपैयाँसम्मको जुनारको कारोबार गर्ने गरेका छन् ।

जुनार जति ढिलो गरी रुखमा राखियो त्यती स्वादिलो हुने भएकाले आजभोलि जुनारको मागसमेत बढेको व्यापारीहरूको भनाइ छ । स्याउले बजारमा बालबालिकादेखि महिलाहरूसम्म जुनार बिक्री गर्न बसेका भेटिन्छन् ।

जुनार बिक्रीबाट यहाँका व्यापारी एकै सिजनमा एक लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । डडेल्धुरामा उत्पादित जुनार तराईका जिल्लामा निर्यात हुने गरेको छ ।