सुदूरपश्चिम नेपाल र भारतको उत्तराखण्डमा मानिसहरू अहिले बिहे भइसकेका छोरीचेलीका घरमा जान कोसेली बनाउन व्यस्त छन्।
सक्नेले सेलरोटी बनाएका छन्, नसक्नेले बिस्कुट र चाउचाउ पोको पारेका छन्। र, यो चटारो त्यत्तिकै बढेको भने होइन।
स्थानीय बोलीचालीमा ’भेटोँला’ वा ’चैतलो’ भनिने पर्व आएकाले धेरैको घरमा यस्तो चटारो देखिएको हो। उत्तराखण्डको कुमाउँमा भने यसलाई ’भिटोली’ वा ’छापरी’ भनिन्छ।
यस पर्वमा चैत महिनाभरि कुनै समय मिलाएर पुरुषहरू आफ्ना दिदीबहिनी तथा छोरीचेलीको घरमा जाने गर्छन्।
कुमाउँ मूल घर भई हाल नयाँ दिल्लीमा प्राध्यापन गर्ने डा. सुरेश पन्त यो नेपाल र कुमाउँको साझा एवम् प्राचीन चलन भएको बताउँछन्।
उनका अनुसार प्राचीन कालदेखि नै खेतीपाती र घरगृहस्थीमा अघिपछि व्यस्त भए पनि वर्षको अन्तिम महिनामा बिहे भएका छोरीचेलीलाई माइती पक्षले माया र ममता प्रदर्शन गर्न एक चोटि भेट्ने गरेको उनी बताउँछन्।
मान्यता
नेपाल र भारत दुवैतिर छोरीचेलीको घर जाँदा खाली हात नगएर कोसेली पनि लैजाने चलन छ। कोसेलीमा सेल र अन्य परिकार तथा केही दक्षिणा हुने गर्छ।
पहिलेपहिले चैत्र महिनामा गरिबीका कारण अनिकाल लाग्ने तथा घरमा भएका अन्न सकिने गर्थ्यो। त्यस्तो बेला दिदीबहिनीहरू भोकै पो छन् कि भनेर एक पटक भए पनि भेट्नु पर्छ भन्ने मान्यता सुरु भएको बूढापाकाहरू बताउँछन्।
त्यसैले पछि पर्वको रूप लिएको हुन सक्ने अनुमान शैल्यशिखर नगरपालिकाकी एक वृद्धा कुथुडी साउदको छ।
डा. पन्त भने यो चलन कसरी सुरु भयो त्यो भन्न गाह्रो हुने भन्दै कुमाउँनी लोकथा र लोकगीतमा विवाहित महिलाहरूले माइतीलाई कुरेर बस्ने प्रसङ्ग आउने बताउँछन्।
माइतीबाट आफ्ना भाइहरू सेलरोटी लिएर भेट्न आएको सम्झिँदै कुथुडी अहिले पनि यो परम्परा रहेको बताउँछिन्।
कुन उमेरमा विवाह भयो र अहिले आफू कति वर्षकी भइन् त्यो पनि बताउन नसक्ने साउद वनमा न्याउली चरी कराउँदा चैत्र महिनामा माइती सम्झिँदै बस्ने गरेको बताउँछिन्।
परिवर्तन
विगतमा छोरीचेलीको घर जाँदा घरमै बनाएका कोसेली लगिन्थ्यो।
अहिले विभिन्न मिष्ठान्न, फलफूल, चिउरा, बिस्कुट, लुगा आदि पनि लान थालिएको छ।
एउटा बिस्कुट मात्रै भए पनि लगेर दिदीबहिनीलाई भेट्नुपर्छ भन्ने मान्यता रहेको महाकाली नगरपालिका(९ की वागीश्वरी नगारीले बताइन्।
वर्षौँ पहिलेदेखि चलिआएको चलन अहिले पनि उस्तै रहेको शैल्यशिखर नगरपालिकाका ६८ वर्षीय अर्जुन सिंह साउद बताउँछन्।
डा. पन्तका अनुसार भारतमा भने हिजोआज भेट्न जान नसके छोरीचेलीलाई निम्त्याएरै भेट्ने र त्यो पनि सम्भव नभए साङ्केतिक रूपमा केही दक्षिणा पठाइदिने चलर सुरु भएको छ।
कोइली कराएपछि‘.
आफ्ना दाजुभाइ नभएका महिलालाई माइती पक्षका अरू पुरुषहरू भेट्न जाने चलन छ।
कुनै कारणवश अथवा घरमा जुठो परेको छ भने चैत्रको साटो वैशाखमा पनि दिदीबहिनीलाई भेट्न जाने महाकाली नगरपालिकाकी ईश्वरी धामीले बताउँछिन्।
वसन्त ऋतुको आगमनसँगै कोइली कराउन थालेपछि छोरीचेलीलाई माइती पक्षको धेरै सम्झना आउने मान्यता यस क्षेत्रमा छ।
चैतेलोमा माइतीबाट आफूलाई भेट्न कोही नआए दु:ख लाग्ने महाकाली नगरपालिकाकी जानकी बोहराको पनि अनुभव छ।