‘नो नट अगेन’ अभियानलाई डा. गोबिन्द केसीको समर्थन

‘नो नट अगेन’ अभियानलाई डा. गोबिन्द केसीको समर्थन

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सामाजिक सञ्जालमा चलिरहेको ‘नो नट अगेन’ अभियानलाई समर्थन गरेका छन्।

निर्वाचन आयोग निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निर्भययुक्त बनाउनेभन्दा पनि आम नागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामा अंकुश लगाउनेतर्फ उद्यत भएको डा. केसीको भनाइ छ।

उनले राज्य संयन्त्र तथा राजनीतिक दलको नेतृत्वदायी पदमा बसी देशलाई कुशासनको दुष्चक्रमा फसाएका खलपात्रहरुलाई आगामी निर्वाचनको माध्यमबाट राष्ट्रिय राजनीतिको मूलप्रवाहबाट किनारा लगाउने चाहना प्रकट गर्न पाउनु नेपाली नागरिकको नैसर्गिक अधिकार भएको बताएका छन्।

डा. केसीले नागरिक तहबाट स्वस्फूर्त रुपमा सामाजिक सञ्जालमा ‘नो नट अगेन’ अभियान चलेको भन्दै आयोगले त्यसमाथि रोक लगाउन खोजेकोप्रति खेद प्रकट गरेका छन्। आयोगले नेताहरुको गुलामी गरेको उनको आरोप छ।

‘सो अभियानलाई पूर्णतः निषेध गर्ने कुत्सित उद्देश्य पूरा गर्नको लागि सम्बन्धित सामाजिक सञ्जाल प्रयोग कर्ताहरुलाई फौजदारी कानूनको दुरुपयोग गरी कडा सजाय गर्ने गराउने स्पष्ट मनसाय प्रकट गरी निर्वाचन आयोगले यही कार्तिक ८ गते जारी गरेको विज्ञप्तिप्रति हामी गम्भीर खेद प्रकट गर्न चाहन्छौँ,’ डा. केसीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान राष्ट्रिय राजनीतिलाई वर्षौदेखि कब्जा गरी बसेको भ्रष्ट सिन्डिकेटको निरन्तरताको लागि निर्वाचन आयोगका पदाधिकारीहरुले पदीय दुरुपयोग गरी गुलामी गरेको स्पष्ट हुन्छ।’

यतिबेला सामाजिक सञ्जालमा विभिन्न राजनीतिक दलका शीर्ष नेतासहित पटक–पटक सांसद, मन्त्री भइसकेकाहरुलाई हराउनुपर्ने भन्दै अभियान चलिरहेको छ।

आयोगले त्यसमा विभिन्न पार्टीका शीर्ष नेताहरुलाई लाञ्छना लगाउने काम भएको भन्दै त्यस्ता फेसबुक पेज बन्द गर्न निर्देशन दिएको थियो।