दार्चुला घटनाः एमाले अध्यक्ष ओलीको प्रश्न, 'प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?'

दार्चुला घटनाः एमाले अध्यक्ष ओलीको प्रश्न, 'प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?'

काठमाडौँ। एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सडक निर्माण गर्ने क्रममा गरिएको विस्फोटबाट नेपाली बालक पवन महराको मृत्यु भएको घटनाबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेका छन्। उनले भारतद्वारा नेपालमाथि हुने गरेका विगतका घटनामा जस्तै प्रधानमन्त्री देउवा मौन रहेको बताएका छन् ।

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रबार विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बिनासूचना विस्फोट गराउँदा हिक्मत महराका छोरा पवनको शुक्रबार ज्यान गएको थियो । एमाले अध्यक्ष ओलीले शनिबार सामाजिक संजाल फेसबुकमा पवन महराको मृत्युबारे दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवामाथि प्रश्न उठाएका हुन् ।

नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका– २ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु । ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन्,ओलीले देउवालाई सोधेका छन्,घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु । तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?

गत वर्ष महाकालीमाथिको तुइनबाट खसेर जयसिंह धामी बेपत्ता भएका थिए । उक्त तुइन भारतीय एसएसबीले काटेको प्रत्यक्षदर्शीले बताएका थिए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं दार्चुलाका सांसद दिलेन्द्र बडूले भने उक्त घटनाको छानबिन गर्नका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएका छन् ।