दार्चुलामा बालक मृत्यु प्रकरण: भारतीय पक्षले स्विकार्‍यो गल्ती

दार्चुलामा बालक मृत्यु प्रकरण: भारतीय पक्षले स्विकार्‍यो गल्ती

भारतीय पक्षले विस्फोट विस्फोट गराउँदा दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनामा भारतले गल्ती स्वीकार गरेको छ। शुक्रवार (कात्तिक १०) गते भारतीय पक्षले महाकाली नदीपारि सडक निर्माण गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको हो।

भारतले तावा घाट-लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा महराको मृत्यु भएको हो भने १४ वर्षीय सरीना महरा घाइते भएकी छन्। अहिले उनको जिल्ला अस्पतालमा उपचार जारी रहेको बताइएको छ। सडक निर्माणका क्रममा  पीडित परिवारसँगको छलफलका क्रममा आज (शनिवार) भारतीय पक्षले गल्ती स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए।

‘अहिले हामी छलफलमै छौँ, भारतीय कम्पनीले गल्ती स्वीकार गरेको छ,’ उनले भने, ‘अरू बालबच्चालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने भनेका छन्, पीडित परिवारले भने उचित क्षतिपूर्ति माग गरेका छन्।’

विस्फोट गराउने निजी कम्पनी भएकाले आफूहरूलाई रोजगारीभन्दा पनि उचित क्षतिपूर्ति दिइनुपर्ने पीडित परिवारको माग छ। महाकाली नदीपारि भारतले तावा घाट–लिपुलेक सडक फराकिलो गर्ने क्रममा गर्ग एन्ड गर्ग कम्पनीले विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ दुम्लिङका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो।

घटनापछि शनिवार पीडित परिवारलाई लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि भारत गएको थियो। अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिना सूचना विस्फोट गराएर ज्यादती गरेकोले यथाशीघ्र यस्तो गतिविधि रोक्न उनीहरूले भारतीय पक्षलाई आग्रह गरेका छन्।

‘पहाड फुटाउनका लागि गरिने विस्फोटले नेपालीले बारम्बार दुःख पाउने गरेका छन्, आइन्दा यस्तो घटना नघटुन्, त्यसका लागि के गर्ने, सोच्नु पर्छ,’ पालिका अध्यक्ष धामीले भने, ‘विस्फोटले नेपालतर्फ पैदल हिँड्ने बाटो समेत हिँड्न लायक छैन।’