दार्चुला घटनाबारे भारतसँग कुटनीतिक तवरबाट कुराकानी गर्न गृहले गर्‍यो परराष्ट्रलाई पत्राचार

दार्चुला घटनाबारे भारतसँग कुटनीतिक तवरबाट कुराकानी गर्न गृहले गर्‍यो परराष्ट्रलाई पत्राचार

भारतले सडक खन्दा उछिट्टिएको ढुंगा लागेर दार्चुलाका १० वर्षका पवन महराको मृत्यु भएपछि यसबारे सरकारले कुटनीतिक माध्यमबाट भारतसँग कुराकानी गर्ने भएको छ।

गृह मन्त्रालयले यसबारे कुटनीतिक तवरबाट कुराकानी गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको हो।

भारतको उत्तराखण्ड प्रान्तको धारचुला क्षेत्रमा सडक निर्माणका क्रममा टाउकोमा ढुंगा लागेर दार्चुलाका महराको मृत्यु भएको थियो।

महराका परिवारलाई उचित राहत उपलब्ध गराउन तथा सुरक्षा सतर्कताका लागि आवश्यक समन्वय र पहल गरिदिन गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई शनिबार आग्रह गरेको हो।

कात्तिक ११ गते भारत उत्तराखण्डको धारचुला क्षेत्रमा सडक स्तरोन्नति गर्न ब्लाष्टिङ्ग गर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका–२ थिईमा गोरेटो बाटो छेउ खर्क नजिकको स्थानमा दुम्लिङ गाउँका पवनको टाउकोमा ढुंगा लागेर मृत्यु भएको थियो।

गृह मन्त्रालयले उक्त घटनाको थप अनुसन्धान भइरहेको साथै उक्त घटनाबाट पीडित परिवारका सदस्यहरुलाई राहत दिलाउने सम्बन्धमा कूटनैतिक तबरबाट आवश्यक समन्वय गरिदिन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको उल्लेख गरेको छ।

सो क्षेत्रमा सडक निर्माण गर्ने क्रममा पर्याप्त सुरक्षा सतर्कता अपनाउन, स्थानीयलाई समेत पूर्वसावधानी अपनाउनका लागि स्थानीय प्रशासन समेतको समन्वयमा जानकारी गराउन र घटनाबाट पीडित परिवारका सदस्यलाई उचित राहत उपलब्ध गराउने सम्बन्धमा आवश्यक समन्वय तथा पहल गरिदिनका लागि गृह मन्त्रालयका शाखा अधिकृत दिनेश न्यौपानेले पत्रमार्फत परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेका छन्।

यस अघि एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता भीम रावलले भारतको हेपाहा प्रवृत्ति प्रति सरकार मौन रहेको भन्दै आलोचना सहित प्रश्न गरेका थिए ।