सातै प्रदेशमा फिल्म सिटी निर्माण गर्ने एमालेको घोषणा

सातै प्रदेशमा फिल्म सिटी निर्माण गर्ने एमालेको घोषणा

काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्रमा कला र फिल्म क्षेत्रलाई पनि सम्बोधन गरेको छ ।

मंगलबार सार्वजनिक गरिएको घोषणापत्रमा एमालेले नेपाली फिल्मको प्रवर्द्धन, विकास र विस्तार गरिने र सम्भावनाका आधारमा सबै प्रदेशमा फिल्म सिटी निर्माण गर्ने उल्लेख छ ।

प्रत्येक प्रदेशमा कला, साहित्य र संस्कृतिको विकासका लागि प्रतिष्ठान स्थापना गरिने पनि एमालेले जनाएको छ । कलाकर्मी, स्रष्टा र साहित्यकारको हकहित संरक्षण गरिने र उनीहरुको थप क्षमता प्रष्फुटनका लागि आवश्यक वातावरण बनाइने पनि एमालेको घोषणापत्रमा उल्लेख छ ।

एमालेले कलाकार, संस्कृतिकर्मी, स्रष्टा, सबै धार्मिक क्षेत्रका अगुवा र समाजसेवीहरूलाई सम्मानित रूपमा राष्ट्र उत्थानमा उत्प्रेरित गर्ने समेत जनाएको छ ।

यसअघि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि आ-आफ्नो दलको घोषणापत्रमा कला, साहित्य, संगीत र फिल्मलाई समावेश गरेका छन् ।