ओली प्रतिगमनका नाइके हुन्: बलायर

ओली प्रतिगमनका नाइके हुन्:  बलायर

अत्तरिया । नेपाली काँग्रेसका प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ मा बाम–लोकतान्त्रिक गठबन्धनकारतर्फबाट प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार वीरबहादुर बलायरले केपी ओली प्रतिगमनका नाइके भएको बताएका छन् ।  गोदावरी नगरपालिका वडा नम्बर ३ मालाखेतीमा भएको मतदाता भेटघाटका क्रममा बोल्दै नेता बलायरले सो कुरा बताएका हुन् । 


मध्य राति राष्ट्रपतिलाई ब्युँझाएर संविधानको हत्या गर्न खोजेको बताउँदै उनले भने,‘ओलीले दुई दुई पटक जनताले मत दिएर पठाएको संसद् भङ्ग गरे ।’ आफूलाई राष्ट्रवादी ठान्ने केपी ओली प्रवृत्तिका विरुद्धमा मङ्सिर ४ मा जनताले मत जाहेर गरेर देखाइदिने पनि उनले बताए । ‘अब ओली प्रवृत्तिका विरुद्धमा जनताले मङ्सिर ४ मा लोकतान्त्रिक–बाम गठबन्धनलाई मत जाहेर गरेर देखाइदिने छन् ।’ 

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट जितेर गएको दुई वर्षभित्रै आफूले क्षेत्र नम्बर ४ कै ३० वटै वडामा एम्बुलेन्स सेवा प्रदान गर्ने बताए । उनले भने,‘म पहिलो प्राथमिकतामा सबै वडामा एम्बुलेन्स सेवा प्रदान गर्नेछु ।’ यसका साथै आफ्नो महत्त्वपूर्ण काम भनेको चौमाला–खैराला सडक, खुटिया–दिपायल फाष्ट ट्र्याक र चौकी डाँडा–फल्टुँडे सडकलाई निर्माण गर्ने भएको उनले बताए ।

उनले भने,‘चौमाला–खैराला सडक, खुटिया–दिपायल फाष्ट ट्र्याक र चौकी डाँडा–फल्टुँडे सडक चाँडै बनाउन सकिएमा धेरै ठुलो उपलब्धि हुने थियो, त्यसका लागि म लाग्नेछु ।’ 

लेखराज भट्टले स्याउले फाष्ट ट्र्याक सडकमा बिर्को लगाएको बताउँदै नेता बलायरले भने,‘फाष्ट ट्र्याकको लागि मैले डोटीमा घोक्रो चिरेर कराई केन्द्रमा हाले, बीपीनगरमा अफिस खोले, तर सडकको गति सर्दै सरेन,के भयो भनेको त लेखराज दाइले स्याउलेमै बिर्को लगाइ दिएका रहेछन् ।’ 

अब आफूले त्यो बिर्को खोलेर सडकलाई दिपायल पुगाउने बताए । ‘अब म त्यो बिर्कोलाई खोल्नका लागि आइहालेको छु,’ उनले भने,‘पहिले मैले डोटीमा फाष्ट ट्र्याक ल्याउँछु भन्थे, तर अब म यहाँबाट डोटीमा फाष्ट ट्र्याक पठाउँछु ।’