पुन: संसद फर्किने दाउमा पुष्करनाथ ओझा !

पुन: संसद फर्किने दाउमा पुष्करनाथ ओझा !

धनगढी । लामो समय कांग्रेसको राजनीति गरेका पुष्करनाथ ओझा यसपटक कैलाली ५ मा स्वतन्त्र उम्मेदवार छन्। ओझा कैलालीमा कांग्रेसका स्थापित नेता हुन्।

२०५६ सालमा तत्कालिन क्षेत्र नम्बर ४ बाट चुनाव जितेका ओझा राज्यमन्त्री ०७० को चुनावमा देउवाले डडेल्धुरा र तत्कालीन कैलाली ६ दुवै निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए। त्यसपछि उनले कैलाली ६ छोडे।

त्यसपछि भएको उपचुनाव कांग्रेसबाट ओझाले जितेका थिए। एमालेका महेश्वर पाठक लाई हराउदै ओझाले जित निकालेका थिए । त्यस पछी ०७४ को चुनावमा ओझाले पनि कांग्रेसबाट आंकाक्षा देखाए। तर उनको टिकट खोसेर कांग्रेसले देउवा पत्नी आरजुलाई मैदानमा उतारेको थियो।

०७४ मा आरजुको हारको पछाडि ओझाको अन्तर्घात रहेको भन्दै उनलाई साधारण सदस्यसमेत नरहने गरी कांग्रेसले कारबाही गरेको थियो। 

ओझासँगै कारवाही गरिएका अरू धेरै नेता कार्यकर्ताको स्थानीय निर्वाचन २०७९ अघि नै कारबाही फुकुवा भएपनि ओझाको भने भएन।
कांग्रेसबाट ०७० को उपचुनाव जितेका उनै ओझा स्वतन्त्रबाट चुनावी दौडमा कैलाली क्षेत्र नम्बर ५ को चुनावी माहोल लाई चासोका साथ हेरिएको छ।

‘उहाँले लामो समयदेखि कांग्रेसमा रहेर राजनीति गर्नुभयो, तर उहाँको योगदानको मूल्याङ्कन भएन,’ ओझा निकट एक नेताले भने, ‘धनगढी बनाउनुपर्छ भनेर लाग्नु भएको छ, उहाँलाई कांग्रेस, एमाले सबै राजनीतिक दलका साथीहरुले पनि सहयोग गर्छन्।’

को हुन् पुष्करनाथ ?  

२०३४ सालमा कक्षा ८ मा त्रिनगर माध्यमिक विद्यालय धनगढीमा पढ्दै गर्दा नेपाल विद्यार्थी संघको राजनीतिबाट सक्रिय भएका पुष्करनाथ २०५६ सालमा निर्वाचित भएका थिए। निर्वाचितपछि उनी त्यही बेला सूचना तथा सञ्चार राज्यमन्त्री बनेका थिए। 

२०७० सालमा कांग्रेस सभापति शेरबहादुर देउवाले कैलाली ५ बाट निर्वाचन जितेपछि डडेल्धुरा रोजेर धनगढी छाडेका थिए। देउवाले छाडेको धनगढीमा भएको उपनिर्वाचनमा पुष्करनाथ विजयी भएका थिए। २०७४ सालको निर्वाचनवमा पुष्करनाथले सभापति देउवा पत्नी आरजुलाई सहयोग नगरेका कारण पराजित भएको भन्दै उनलाई पार्टीले कारबाही गरेपछि भने उनी त्यसपछि गृहनगर धनगढीमै छन्। 

कैलाली ५ मा प्रतिनिधिसभातर्फ १० जना चुनावी मैदानमा छन्। सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसका डिल्लीराज पन्त र नेकपा एमालेका नारदमुनि राना चुनावी मैदानमा छन्।

यस्तै, लोसपाका दानबहादुर विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीका नन्दाकुमारी दर्लामीमगर र राष्ट्रिय स्वतन्त्र पार्टीका इश्वरी विष्ट पनि प्रतिनिधि सभाको दौडमा छन्।

कैलाली ५ मा ५ जना स्वतन्त्र उम्मेदवार छन्।  ओझा सहित  जगदिश चौधरी, सत्यराज उपाध्याय, रामबहादुर सिंह र गगनबहादुर धामी स्वतन्त्र उम्मेदवार छन्।