अस्वाभाविक चर्को ब्याजदर बढाएको भन्दै कैलालीका व्यवसायीहरू प्रदर्शनमा

अस्वाभाविक चर्को ब्याजदर बढाएको भन्दै कैलालीका व्यवसायीहरू प्रदर्शनमा

कैलालीका उद्योगी, व्यवसायीले चर्को ब्याजदरविरुद्ध प्रदर्शन गरेका छन्। बैङ्क तथा वित्तीय संस्थाहरूले अस्वाभाविक चर्को ब्याजदर बढाएको भन्दै कैलालीका उद्योगी, व्यवसायीहरूले प्रदर्शन गरेका हुन्। 

बुधवार धनगढीको ट्राफिक चौराहादेखि नेपाल राष्ट्र बैङ्क धनगढीसम्म मौन प्रदर्शन गरेका छन्। बैङ्क तथा वित्तीय संस्थाले बढाएको ब्याजदरले व्यवसाय सञ्चालन गर्न समस्या भएको भन्दै विरोधसहित ब्याजदर घटाउन माग गरेका हुन्। 

कैलाली उद्योग वाणिज्य संघको आयोजनमा विरोध प्रदर्शन गरिएको हो। अध्यक्ष पुष्पराज कुँवरले नेपाल राष्ट्र बैङ्कको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा गरिएको व्यवस्था र कर्जाको ब्याजदरमा भएको अस्वाभाविक वृद्धिले उद्योग व्यवसायी नै धराशायी हुने भन्दै विरोधमा उत्रिनु परेको बताए। 

बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा उद्योगी व्यवसायीप्रति मर्यादित व्यवहार गर्नुपर्ने, कर्जाको ब्याजदरमा एकल अङ्क कायम गर्नुपर्ने, विगतको चालु पुँजी कर्जा निर्देशिका यथावत् राखेर क्रमिक रूपमा लागू गर्नुपर्ने, मौद्रिक नीतिमा भएका छुटलाई कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेका छन्।

यस्तै कैलाली उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष पुष्कर ओझाले राष्ट्र बैङ्कले जारी गर्ने रिपो कम गर्नुपर्ने, ब्याजदरमा वृद्धि गर्न नहुने, ब्याजदर पुर्न संरचना गर्नुपर्ने र बैङ्कले सुरु गरेको सम्पूर्ण लिलाम प्रक्रिया रोक्नुपर्ने बताए। 

उनले बैङ्कले लिने चर्को ब्याजदरकै कारण व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताए।उनीहरूले मौन प्रदर्शनसहित ब्यावसायमाथीको व्यापार बन्द गर, चालु पुँजी निर्देशिका बन्द गर, प्रिमियम दर बृद्र्धिमा नियन्त्रण गर, बैङ्कको ब्याजदर एकल बिन्दुमा कायम गर, ७ प्रतिशतमा दिएको रिण कसरी १५ प्रतिशत तिर्ने, हामीले आफ्नो पेट पाल्ने कि बैङ्कको, कि अव वार कि पार, बैंकीङ्ग आतङ्क बन्द गर, ब्इादरमा स्थिरता कायम गर लगायतका प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका हुन्।

बैङ्क तथा बित्तिय संस्थाबाट निरन्तर बढी रहेको उच्च ब्याजदर, ताकेता र मानमर्दनले निजी क्षेत्र पीडित बनेको भन्दै मङ्गलवार धनगढीमा उक्त ज्ञापन पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाइएको थियो। नेपाल उद्योग वाणिज्य महासङ्घले बैङ्क तथा वित्तीय संस्थाको ब्याजदरप्रति देशै भरी विरोध जनाइरहेको छ।