मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्वाचन आयोगको निर्देशन

मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्वाचन आयोगको निर्देशन

मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सिराहका दुई स्थानीय तहलाई निर्वाचन आयोगको निर्देशन दिएको छ । आयोगले जिल्लाको सखुवानान्कारकट्टी गाउँपालिका र सुखीपुर नगरपालिकालाई यस्तो निर्देशन दिएको हो ।

आयोगले सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव, प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झा र सुखीपुर नगरपालिकाका नगरप्रमुख रामऔतार यादव तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रेश्वरप्रसाद यादवलाई मतदाता शिक्षाा कार्यक्रम सञ्चालन नभएकोमा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको भए उक्त कार्यक्रम यथाशिघ्र सञ्चालन गरी पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगमा जानकारी गराउन पनि निर्देशन दिइएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम पौडेलले जानकारी दिए । नेपालको संविधानको धारा २४७ मा “यस संविधान बमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ” भन्ने व्यवस्था छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ र ८ मा आयोगले निर्वाचनको कामको लागि स्थानीय सरकारको सहयोग लिन सक्ने र सो उपलब्ध गराउनु स्थानीय तहको कर्तव्य हुने भनी उल्लेख भएको छ ।