भोट माग्न उम्मेदवार गाउँतिर, नोट कमाउन युवा भारततिर

भोट माग्न उम्मेदवार गाउँतिर, नोट कमाउन युवा भारततिर

बाजुरा  । निर्वाचनमा भोट माग्न उम्मेदवारहरू गाउँगाउँमा पुग्न थालेको बेला बाजुराका अधिकांश युवा रोजगारीका लागि दिनानुदिन भारतमा जान थालेका छन् ।

केही महिना पहिला भारतबाट दशैँ र तिहार मनाउन गाउँ फर्केका ती युवा गाउँमा  रोजगारी नमिलेको भन्दै जागिरको खोजीमा भारत जान थालेका हुन् ।

त्रिवेणी नगरपालिका –७ झाल्गाउँका स्थानीय लालबहादुर सार्कीकले दशैँ तिहार मनाउन गाउँमा आएपछि रोजगारी नमिलेपछि छोराछोरीको पढाइ तथा घर खर्च चलाउन पुनः  कामको खोजीमा भारतमा जान थालेको बताउनुभयो ।

बाजुराका हिमाली, जगनाथ, स्वामिकार्तिक, बूढीनन्दा त्रिवेणी, बूढीगङ्गा, खप्तड छेडेदह गौमुल, बडिमालिका नगरपालिकालगायतका अधिकांश स्थानीयको यतिबेला हिउँदे खेती लगाएर भारत जाने र वर्षायाममा खेती लगाउने गरी असारमा फेरि गाउँ फर्किने पहिले देखि नै अहिलेसम्मको चलन चल्तीकै रूपमा रहेको बताइएको छ ।

बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं –१० बदेडाका स्थानीय विनोद सार्कीले यतिबेला उम्मेदवार गाउँमा आएर भोट माग्न थाले पनि यहाँका युवा भने उहाँहरूको कुरा नसुन्दै धमाधम कामको खोजीमा भारतमा जान थालेको बताउनुभयो ।

बदेडामा झण्डै ५० दलित परिवारको बसोबास छ, ती सबै परिवारले अहिलेसम्म भारतबाट नै पठाएको पैसाले गुजारा गर्दै आएको उहाँले बताउनुभयो ।

यहाँका अधिकांश दलित परिवार पहिलादेखि अहिलेसम्म भारतमै जाने गर्दछन् । उनीहरूले उताबाट पैसा पठाउँछन् । अनि यता भएकाहरूले त्यही पैसाले घरखर्च चलाउने गर्दछन् ।

बदेडाको दलित बस्तीमा चार जना आइए, एक जना अनमी, एक जना बिएड, एक जना एम एड पढेका छन् । ती कसैलाई पनि रोजगार मिलेको छैन । अहिले ती सबै पढेका युवा सबै रोजगारीका लागि भारत गएर काम गरिरहेका छन् । 
ती पढेलेखेका युवाले भारतमा नौकरी गरेर आमाबुवा र छोराछोरीलाई पढ्न तथा घर खर्च चलाउन भनेर पैसा दिन्छन् । त्यही पैसाले घरखर्च र पढाइ गर्ने गर्दछन् ।

बूढीगङ्गा–६ बाम्का बजारमा रहेको संयुक्त सुदूरपश्चिम बस काउन्टरका चक्रबहादुर थापाले बाजुराका नौ वटै स्थानीय तहबाट दैनिक भारत जानेको निकै भिडभाड लाग्ने गरेको बताउनुभयो ।

उहाँले गाडीमा आउने मध्ये कोही पढाइको सिलसिलामा धनगढी, महेन्द्रनगर, नेपालगन्ज, काठमाडौँ जाने गरेको भए पनि अधिकांश युवा भने रोजगारीका लागि भारत जानका लागि आउने गर्दछन् ।