डोटीवासीको विकास र सुख मेरो प्रमुख एजेण्डा हो : पूर्वमन्त्री आले

डोटीवासीको विकास र सुख मेरो प्रमुख एजेण्डा हो : पूर्वमन्त्री आले

डोटीबाट लोकतान्त्रिक बाम गठबन्धनकातर्फबाट प्रतिनिधीसभा सदस्यका साझा उम्मेदवार बन्नु भएका पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको विकास र डोटीवासीको सुख , समृद्धि आफ्नो प्रमुख एजेण्डा भएको बताउनुभएको छ । डोटीको बोगटान फुड्सिल गाउँपालिका केदार अखडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नु हुँदै उहाँले डोटीको विकास र डोटेली जनताको खुशी र समृद्धि बाहेक अन्य आफ्नो कुनै स्वार्थ नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले व्यक्तिगत स्वार्थ बोकेर राजनिती गरेको होइन, मैले डोटीको विकास र डोटेली जनताको खुशी अनि समृद्धि बाहेक अरु केही देखेको छैन् ।’ सोही सभालाई सम्बोधन गर्नु हुँदै पूर्वमन्त्री आलेले आफ्नो मात्र नभइ आफना सन्तति र भविष्यका पुस्ताका लागि भएपनि सहि उम्मेदवार चुन्न मतदातालाई आह्वान गर्नुभयो । उहाँले थप भन्नुभयो, ‘तपाइको एउटा मत गलत व्याक्तिलाई जाँदा तपाइले मात्रै होइन तपाईका सन्ततिले पनि दुःख पाउँछन्, त्यसका कारण सहि तथा काम गर्ने उम्मेदवारलाई चुन्नु होला ।’

उहाँले आफु लोक तान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार भएको बताउँनु हुँदै आफ्नो जित भनेको काग्रेस, माओवादी, समाजवादी र राष्ट्रिय जनमोर्चाको भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘२०७४ को चुनावमा तपाई जनताकै आशीवार्दले मैले चुनाव जिते, तपाईको जनप्रतिनिधी प्रेमबहादुर आलेले जनताको शीर कहिल्यै पनि झुक्न दिएन र आगमी दिनमा पनि झुक्न दिने छैन ।’ आफु मन्त्री भएका छोटो समयमा पनि बतास समूह जस्ता सरकारी जमिन हडप्नेदेखि लिएर क्यासिनो चलाएर सरकारलाई राजश्व नतिर्नेका पाता कसेर सरकारी जमिन फिर्ता गराउनुका साथै सरकारको खातामा करोडौँ रकम राजश्व जम्मा गराएको बताउनु हुँदै उहाँले भन्नुभयो, ‘म विकास गर्ने नेता हुँ, सरकारी सम्पतीमा गिद्धे नजर लाउनेलाई म पानी मुनी गएपनि छोड्दैन ।’

यसैगरी उहाँले बोगटान सडक कालोपत्रेको कामका लागि बजेट विनियोजन गराउन सफल भएको बताउनु हुँदै उहाँले खुटिया, बिपिनगर, गड्सेरा, दिपायल, सायल हुँदै बझाङ उरै जोड्ने सडक निर्माणको काम पनि आफुले नै सुरुवात गर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘मेरो कार्यकालमा बनेका सडक र नाला कम्तिमा ५० वर्ष टिक्नेछन्, मैले डोटीको पर्यटन प्रबद्धनदेखि धार्मिक क्षेत्रमा करोडौँ बजेट विनियोजन गरेको छु, अबका दिनमा पनि डोटीको मुहार फेर्ने गरी विकास गर्छु ।’ डोटीको विकास तथा डोटेली जनताको सुख र समृद्धिका लागि कलम चिन्हमा मतदान गर्न समेत उहाँले आम नागरिकमा आह्वान गर्नु भएको थियो ।