भारतबाट अवैध रूपमा भित्र्याइएका अस्वस्थकर माछा नष्ट

भारतबाट अवैध रूपमा  भित्र्याइएका अस्वस्थकर माछा नष्ट

भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका अस्वस्थकर माछा चितवनमा नष्ट गरिएको छ । नवलपरासीको बर्दघाटबाट काठमाडौं लैजाँदै गरेको अवस्थामा पङ्गासियस जातका माछा कृषकले सशस्त्र प्रहरी बलको सहयोगमा नियन्त्रणमा लिएर सोमबार नष्ट गरेका हुन् ।

लु३च ३३३६ नम्बरको योद्धा पिकअप गाडीमा ५० वटा कार्टुनमा राखिएका दुई हजार किलो माछा चितवनको रामनगरमा नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।

नष्ट गरिएको माछाको बजार मूल्य करिब चार लाख रुपैयाँ हुने जनाइएको छ ।  कागजपत्र र अवस्था हेर्दा नेपाली बिलमा भारतीय माछा ल्याएको पुष्टि भएपछि माछा नष्ट गरिएको मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले जानकारी दिए । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–२ का २३ वर्षीय विवेककुमार तेलीले अवैध रूपमा माछा भित्र्याएर नेपाली गाडीमा काठमाडौं लैजाँदै गरेका व्यवसायीको भनाइ छ ।

चितवनका व्यवसायीले गत असोज १ गतेदेखि नियमित अनुगमन गर्दै आएका छन् । सोही क्रममा तेस्रोपटक अवैध माछा नियन्त्रणमा लिइएको हो । भारतीय तथा अवैध माछाको आयातमा रोक लगाउने भनेर सम्बन्धित पक्षबीच छलफल चलाएर निर्णय नै गरिसक्दासमेत आउने क्रम नरोकिएपछि मत्स्य व्यवसायीले अनुगमनलाई जारी राखेका छन् । चितवनमा वार्षिक करिब छ हजार पाँच सय टन माछा उत्पादन हुँदै आएको सङ्घले जनाएको छ ।