अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुने राप्रपाको दाबी

अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुने  राप्रपाको दाबी

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुने दाबी राप्रपाले गरेको छ।

२०७४ सालमा भएको निर्वाचनमा झापा ३ बाट निर्वाचित भएका लिङ्देन सोही क्षेत्रमा यसपटक दोस्रो जितको खोजीमा छन्। उनको जित निश्चित रहेको राप्रपा झापा अध्यक्ष केशव ओझा दाबी गर्छन्।
झापा–३ मा सत्तारुढ गठबन्धनबा कांग्रेसका कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ। यो क्षेत्रमा सिटौला र राप्रपा अध्यक्ष लिङ्देनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। लिङ्देनलाई एमालेको समर्थन छ। एमालेको समर्थन, स्थानीय तहको मतपरिणाम र चुनावी प्रचारमा देखिएको मतदाताको उत्साहले लिङ्देनको जितलाई सुनिश्चित गरेको राप्रपाको दाबी छ।

लिङ्देनसँग २०७४ सालको निर्वाचनको बदला लिने उद्देश्यसहित कृष्णप्रसाद सिटौला चुनावी मैदानमा उत्रिएका छन्। तर, ६ महिनाअघि मात्र भएको स्थानीय तह निर्वाचनको परिणामलाई हेर्ने हो भने सत्तारुढ गठबन्धन ९ हजार ५८ मतले पछि छ। अझ स्थानीय तहको निर्वाचनमा कचनकवलमा एमाले र कांग्रेसबीच तालमेल भएको थियो। जहाँ ६ वटा वडामा कांग्रेस विजयी भएको थियो। तर, अहिले एमालेले राप्रपालाई सहयोग गर्नेछ।

स्थानीय तहको मतपरिणामलाई आधारमा मान्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २५ हजार ९४९ मत पाएका थिए। दोस्रोमा राप्रपाका वडा अध्यक्षले २१ हजार १५९,  तेस्रोमा एमालेको २१ हजार ८५ मत, चौथोमा माओवादी केन्द्रको ६ हजार ६८८ मत, पाँचौँमा जसपाको ५३७ मत, छैटौँमा लोसपाको २०८ मत र एकीकृत समाजवादीको १२ मत छ।

यसरी हेर्दा एमाले र राप्रपाको मत जोड्दा ४२ हजार २४४ हुन्छ भने सत्तारूढ गठबन्धनको ३३ हजार १८६ मत देखिन्छ। स्थानीय तह निर्वाचनमा कांग्रेसलाई सघाएको एमालेले अहिले राप्रपालाई समर्थन गरेको छ।

जसकारण स्थानीय तह निर्वाचनको भन्दा अहिले राप्रपाको मत बढी आउने राप्रपा नेताहरु बताउँछन्। सिटौलालाई हराउन सकिने स्थानीय तहकै मतपरिणामको आधारमा भन्न मिल्ने अध्यक्ष ओझा बताउँछन्।