ओझाले भने- भोलि बिहान पनि मतगणना सुरु भएन भने...

ओझाले भने- भोलि बिहान पनि मतगणना सुरु भएन भने...

कैलाली क्षेत्र ५ का स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले मतगणना ढिलाई गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । 

उनले देशभरि मतगणना सुरु भइसकेपनि यस क्षेत्रमा निर्वाचन सकिएको २४ घण्टासम्मपनि मतगणना नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । 

मुख्य निर्वाचन कार्यालयले केही समयअघिमात्रै एक विज्ञप्ति जारी गर्दै मतगणना बुधबार बिहान ८ बजेबाट मात्रै सुरु हुने जानकारी दिएको थियो ।

जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना भोलि गर्ने निर्णय गरिएको बताए । 

'समयमा मतगणना होस् भन्ने मेरो चाहाना हो । देशभरि मतगणना सुरु भैसक्यो । यहाँ मतगणनामा हुने ढिलाईले आशंका बढाएको छ ' पत्रकार सम्मेलन गर्दै ओझाले भने ।

उनको पत्रकार सम्मेलन अघि निर्वाचन कार्यालयले भोलिबिहान ८ बजेबाट मतगणना सुरु गर्ने जनाएको थियो । त्यसको स्वागत गर्दै उनले भोलि ८ बजेभन्दा ढिलो मतगणना भयो भने आशंका बढ्दै जाने बताए ।  

उनले हालसम्मको निर्वाचनको प्रक्रिया प्रति आफ्नो असन्तुष्टि नरहेको पनि जानकारी दिए । 

यस क्षेत्रका सबै मतपेटिका ल्याइसकिएको छ । आज भएको सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएको थियो । 

तर सर्वदलीय बैठकमा सत्तारूढ गठबन्धनले वडागत रूपमा गणना गर्नुपर्ने र एमालेसहितका अन्य दलले सगोलरूपमा गणना गर्न माग गरेपछि विवाद उत्पन्न भएको थियो ।

सोही क्रममा उनी ढलेपछि चिकित्सकलाई बोलाएर स्वास्थ्य परीक्षण गरिएको थियो । 

मुख्य निर्वाचन अधिकृतको स्वास्थ समस्या आएपछि दिउँसो ३ बजेसम्म दलहरूसँग समय मागिएको थियो । तर साढे ४ बज्दा समेत मतगणना सुरु नभएपछि नाराबाजी समेत भएको थियो ।

कैलाली- ५ मा गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।