डडेल्धुरा पुगेर चर्चामा रहे सागर

डडेल्धुरा पुगेर चर्चामा रहे सागर

डडेल्धुरा । डडेल्धुराका कांग्रेस कार्यकर्ता रमेश धामीको परिवारले विगतका ६ निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई मतदान भोट दिए । यस पटक भने उनको परिवारले स्वतन्त्र उम्मेदवार सागर ढकाललाई मतदान गरे ।

‘छोराले विदेशबाट फोन गरेर सागरलाई मत दिनुपर्ने भन्यो,’ रमेशका बुवा हरिसिंह धामीले भने, ‘वर्षौंदेखि कांग्रेसको कार्यकर्ता भएर काम गर्दा पनि पढेलेखेको छोराले परिवार पाल्न विदेश जानुपर्‍यो । हरेक पटक चुनावका गरिने कुनै पनि वाचा पूरा भएनन् । प्रधानमन्त्री भएर मात्र जनताका दुःखमर्का पूरा हुँदा रहेनछन् ।’

डडेल्धुराको परशुराम नगरपालिका–३ का धामी मात्र होइन जयनारायण जाग्रीका परिवारले पनि यस पटक सुई चिह्न पाएका स्वतन्त्र उम्मेदवार ढकाललाई नै मतदान गरे । जयनारायणका छोरा पनि तीन वर्षदेखि कतारमा छन् । उनको परिवारले ०६४ देखि लगातार माओवादीलाई मतदान गर्दै आएका थिए । कतारमा काम गरिरहेका उनका छोरा २७ वर्षीय बलबहादुरले पनि घरमा फोन गरेर स्वतन्त्रलाई मत दिन आग्रह गरेको उनका बुवा जयनारायणले बताए । उनले भने, ‘एक पटक दलका नेताहरूलाई चेताउन पनि यस पटक आफूहरूले स्वतन्त्र उम्मेदवारलाई मतदान गरेका हौं ।’

डडेल्धुराको दुर्गम गाउँका यी दुई परिवार उदाहरण मात्र हुन् । यस पटकको निर्वाचनमा डडेल्धुरासँग कुनै साइनो नभएका स्वतन्त्र उम्मेदवार ढकालले रोजगारीका लागि विदेशिएका अधिकांश परिवारको मत पाएका छन् । मत मात्रै होइन रोजगारीका सिलसिलामा तेस्रो मुलुकमा रहेका अधिकांश युवाहरूले ढकाललाई आर्थिक सहयोग पनि पठाए । प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुरा–२ का खेम जोशीले फेसबुक स्टाटस लेख्दै भनेका छन्, ‘मत मात्र होइन हामी धेरै साथीहरूले स्वतन्त्र उम्मेदवार सागर ढकाललाई आर्थिक सहयोग पनि पठायौं । उनको हारजित जे भए पनि दलका नेताहरूलाई चेतावनी दिन पनि यस पटक हाम्रो मत स्वतन्त्र उम्मेदवारलाई जानुपर्छ ।’ दुबईमा कार्यरत जोशी जस्तै मलेसियाको पेनांग सहरमा काठको मिस्त्रीका रूपमा काम गरिरहेका अजयमेरु–३ का नवीन कामीले पनि फेसबुकमार्फत यसरी नै स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए । उनले लेखेका छन्, ‘हरेक निर्वाचनमा नेताहरूले गर्ने प्रतिबद्धता चुनावपछि बिर्सने गर्छन् । आफ्नै जिल्लाका नेता भनेर के गर्नु हाम्रो अवस्था कहिले पनि परिवर्तन हुन सकेन । सबै मिलेर स्वतन्त्रलाई मत हालौं र नेताहरूलाई चेतावनी दिऊँ ।’

प्रधानमन्त्री देउवासँग निर्वाचन लड्न गुल्मीबाट चार महिनाअघि डडेल्धुरा आइपुगेका ढकाल राजनीतिक दलका नेताहरू कहिले नपुगेका दुर्गम गाउँमा पुगे । ‘उनले सर्वसाधारणलाई सपना बाँडेनन् । दलका नेताहरूको अकर्मण्यताका विषयमा चेतना फैलाए,’ स्थानीय शिक्षक भुवनराज भट्टले भने, ‘रोजगारीका लागि विदेशिएका युवाहरूलाई सम्पर्क गरे, सहयोग गर्न आग्रह गरे, नेताहरूलाई चेताउन पनि आफूलाई मत दिन आग्रह गरे जसको परिणामअनुसार जिल्लासँग कुनै साइनो नभएका ढकालले राम्रो मत ल्याउने सम्भावना देखिएको छ ।’

मतगणनाको पछिल्लो परिणामअनुसार पनि परम्परागत राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै ढकाल देउवासँग प्रतिस्पर्धा गरिरहेका छन् । कांग्रेस बीपीका कर्ण मल्ल, एमाले समर्थित स्वतन्त्र उम्मेदवार एमाले नेता विक्रम शाही, राप्रपा नेता गोविन्द खडायतलाई प्रारम्भिक परिणामअनुसार ढकालले पछि पारेका छन् । डडेल्धुराबाट झन्डै ९ हजार युवा रोजगारीका लागि तेस्रो मुलुकमा छन् । त्यसमा पनि ८० प्रतिशत खाडी मुलुकमा छन् । ग्रामीण विकास तथा अनुसन्धान केन्द्रका संयोजक टेकराज उपाध्यायले भने, ‘स्वतन्त्र उम्मेदवार ढकालले तिनै परिवारलाई टार्गेट गरेर चुनावी प्रचारप्रसार गरे । त्यसबाहेक उनले कांग्रेस, एमाले र माओवादी जस्ता मूलधारका पार्टीहरूसँग असन्तुष्ट नेता कार्यकर्तालाई टार्गेट गरेका हुन् ।’ प्रधानमन्त्री पत्नी आरजु देउवाले पटक–पटक रोजगारीका लागि विदेश पठाइदिने अभिव्यक्तिलाई पनि ढकालले आफ्नो प्रचारको अस्त्र बनाएको देखिन्छ । उनले भने, ‘देशमै रोजगारी सिर्जना गर्ने, विदेशिएका युवाहरूलाइ स्वदेश फर्काउने, विदेश जानुपर्ने बाध्यताबाट मुक्ति दिने वाचाभन्दा विदेश पठाउने उनको अभिव्यक्तिले पनि ढकाललाई मत माग्न सहज भएको हो ।’

तेस्रो मुलुकमा रोजगारी गरिरहेका युवाका परिवार मात्र होइन स्वतन्त्र उम्मेदवार ढकालले रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका युवासँग पनि सम्पर्क गरे । उनीहरूलाई भारत जानुपर्ने बाध्यता सिर्जना गर्ने नेताहरूविरुद्ध आफ्नो उम्मेदवारी भएकाले सहयोग गर्न आग्रह गरे । जसको प्रत्यक्ष असर त्यस्ता परिवारमा परेको देखिएको छ । प्रधानमन्त्री देउवा, बीपी कांग्रेसका उम्मेदवार मल्लको गृहपालिका गन्यापधुराका अधिकांश युवा रोजगारीका लागि भारतमा छन् । धेरै युवाहरू मतदान गर्न मात्र घर फर्किए । त्यस्ता मतदातामा पनि ढकालको प्रभाव देखिएको छ । विदेशिएका युवालाई लक्षित गरी प्रचारका क्रममा ढकालले पनि सामाजिक सञ्जालमा आफूलाई धेरै आर्थिक सहयोग आएको र अब आवश्यकता नभएकाले सहयोग नपठाउन आग्रह गरेका थिए । लगातार ६ पटक निर्वाचन जितेका र ५ पटक प्रधानमन्त्री भएका देउवाले डडेल्धुरामा सातौं पटक पनि जित हासिल गर्ने देखिए पनि मतदाताले भने देउवासहित सबै दलका नेताहरूलाई चेतावनी स्वरूप ढकाललाई मतदान गरेको देखिएको छ ।

दलका नेताहरू भने सामाजिक सञ्जालमा फैलिएको भ्रमका कारण डडेल्धुरासँग भौतिक साइनो नभएका ढकालले यसरी मत ध्रुवीकरण गर्न सकेको दाबी गर्छन् । एक कांग्रेस नेता रमेश पन्त भन्छन्, ‘यस पटक स्वतन्त्र उम्मेदवारले देउवालाई चुनौती दिन नसके पनि उनले पाउने मतले राजनीतिक दलहरूलाई चुनौती चाहिँ दिएको छ ।’ यद्यपि सोमबार साँझसम्म ढकालभन्दा प्रधानमन्त्री देउवा तेब्बर बढी मतले अगाडि छन् ।