धनगढीको एमडी आरओ पानी उद्योगमा सिल

धनगढीको  एमडी आरओ  पानी उद्योगमा सिल

धनगढी  : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले धनगढी स्थित एक पिउने पानी उद्योगमा सिल गरेको छ । धनगढी उपमहानगरपालिका– १, शिवनगर स्थित एमडी आरओ शुद्ध पिउने पानी उद्योगमा सिल गरेको हो ।

कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवरको नेतृत्वमा गएको टोलीले उद्योगले प्रशोधित पिउने पानी निर्दे्शिका २०७४ पालना नगरेको भेटिएपछि सिल गरेको जनाएको छ । टोलीले खानेपानी उद्योगमा रहेका दुई ट्यांकीका सबै चारवटा धारामा सिलबन्दी गरेको छ ।

उद्योगका बारेमा उजुरी परेपछि छापा हान्दा कैफियत भेटिएपछि उद्योग सिल गरेको अधिकृत कुँवरले बताउनुभयो ।

उद्योगले पानी प्रशोधन तथा प्याकेजिङ कक्ष र पानी प्रशोधन प्रालीमा प्रशोधित पिउने पानी निर्दे्शिका २०७४ बमोजिम नभएको, प्रशोधित पिउने पानी भर्ने जारमा लेबल विवरण उल्लेख नगरेको, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीबाट विगत दुई वर्षदेखि अनुज्ञापत्र नवीकरण नगरेको जनाइएको छ ।