अध्यक्ष यादव हार्नेभएपछि मतगणना स्थगित गर्न जसपाको चेतावनी

अध्यक्ष यादव हार्नेभएपछि मतगणना स्थगित गर्न जसपाको चेतावनी

जनता समाजवादी पार्टीले सप्तरी २ मा प्रतिनिधि सभातर्फको मतगणना कार्य स्थगित गर्न माग गरेको छ । 

जसपाका प्रतिनिधि नारायणप्रसाद यादवले निर्वाचन अधिकृतलाई मत गणना स्थगित गर्न माग गर्दै निवेदन पेश गरेका छन् । मतपेटिकाको सिल भेरिफिकेशन गर्नुपर्ने भन्दै उक्त कार्य गर्दासम्मका लागि मत गणना कार्य स्थगित गर्न उनले माग गरेका छन् । जबरजस्ती मत गणना गरिए आफूहरूलाई मान्य नहुने उनले निवेदनमा प्रष्ट पारेका छन् । 

सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् । उक्त क्षेत्रमा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता बनाइरहेका छन् । मत परिणाम अपेक्षित नभएपछि जसपाका कार्यकर्ताहरूले मत गणनास्थलमा नाराबाजीसमेत गरेका थिए । 

उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवसहितका युवाहरूले नाराबाजी गरेका हुन् । 

जारी मतगणनाको पछिल्लो परिणामअनुसार सिके राउतले २१ हजार ८१७ मत प्राप्त गरेका छन् । उपेन्द्रले १० हजार ८८७ मत मात्र प्राप्त गरेका छन् ।