अर्जेन्टिनालाई हराएपछि साउदीका राजाले गरे सार्वजनिक विदाको घोषणा

अर्जेन्टिनालाई हराएपछि साउदीका राजाले गरे सार्वजनिक विदाको घोषणा

कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिनालाई पराजित गर्दै ऐतिहासिक जित निकालेपछि साउदी अरबका राजाले सार्वजनिक विदा दिएका छन् ।

साउदी अरबका राजा सलमानले अर्जेन्टिनाविरुद्ध २–१ को जित निकालेपछि देशमा उत्सव मानउन सार्वजनिक विदा घोषणा गरेका हुन् । खेलमा उपाधिको दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ गोलअन्तरले पराजित गर्दै साउदी अरबले ऐतिहासिक जित निकालेको हो ।

त्यस्तै, नेपाली राजदुतावासले प्रेस विज्ञप्ति नै निकाल्दै बुधबार साउदी सरकारले सार्वजनिक विदा दिएको कारण राजदुतावास बन्द रहने जानकारी गराएको छ ।

राजदुतावासले भनेको छ, ‘कतारमा चलिरहेको फिफा विश्व कप फूटबल प्रतियोगितामा साउदी अरेबिया र अर्जेन्टिनाबीच आज भएको रोमाञ्चक खेलमा साउदी अरेवियाले उत्कृष्ट जित हासिल गरेको खुसियालीको अवसरमा साउदी सरकारले भोलि बुधबारका दिन साउदी अधिराज्यभरका सम्पूर्ण सरकारी कार्यालय, निजी क्षेत्र, क्याम्पस तथा विद्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको हुंदा यस राजदूतावास भोलि बुधबारका दिन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

राजदुतावासले उल्लेख गरेको छ, ‘हामी पनि यो अपूर्व खुसियालीको क्षण साउदी सरकार र नागरिकहरूसँग  बाँड्न चाहान्छौं। टिम साउदीलाई धेरै धेरै बधाई । आगामी खेलहरूमा पनि यस्तै उत्कृष्ट नतिजा हासिल होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छौँ ।’

पहिलो हाफमा १–० गोलले पछि परेको साउदी अरबले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्दै जित निकालेको हो । साउदी अरबका लागि सालेह अलशेरी र सालेम अल्दावसारीले गोल गरे । यता, अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले गोल गरे ।

खेलको १०औँ मिनेटमा नै पेनाल्टीबाट कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई १–० गोको अग्रता दिलाए । भिडियो एसिस्टेन्ट रेफ्रि ९भीएआर० ले अर्जेन्टिनालाई पेनाल्टी दिएको थियो । डिबक्सभित्र अर्जेन्टिनाका खेलाडीलाई साउदी अरबका खेलाडीले लडाएपछि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट मेस्सीले सुन्दर गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए ।

खेलको २२औँ मिनेटमा मेस्सीले गोल गर्दै खुसियाली मनाए । तर, अफसाइड भएसँगै त्यो गोलले मान्यता पाएन । खेलको २९औँ मिनेटमा अर्जेन्टिनाका लौटारो मार्टिनेजले गोल गरे । तर, भीएआरले यो गोललाई पनि मान्यता दिएन । मार्टिनेजले अफसाइड गोल गरेका थिए ।

खेलको ३५औँ मिनेटमा मार्टिनेजले नै गोल गरे । तर यो गोल पनि अफसाइड भयो । योसँगै अर्जेन्टिनाले गरेका तीन गोल अफसाइड भए ।

सालेह अलशेरीले खेलको ४८औँ मिनेटाम गोल गर्दै साउदी अरबलाई अर्जेन्टिनाविरुद्ध १–१ गोलको बराबरी दिलाए । खेलको ५३औँ मिनेटमा सालेम अल्दावसारीले गोल गर्दै अर्जेन्टिनाविरुद्ध साउदी अरबलाई २–१ गोलको अग्रता दिलाए । बाँकी समयमा अर्जेन्टिनालाई रोक्दै साउदी अरबले जित निकालेको हो ।

समूह ‘सी’ मा रहेको साउदी अरबले अब पोल्यान्ड र मेक्सिकोसँग खेल्नेछ । यी दुवै राष्ट्रलाई पराजित गरे साउदी अरब समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्नेछ । तर दुई खेलमध्ये एक खेलमा जित निकाले पनि प्रि–क्वार्टरफाइनलमा पुग्ने सम्भावना रहन्छ ।