सुरुवाती अग्रता लिएर ६४ वर्षपछि पहिलो हार

सुरुवाती अग्रता लिएर ६४ वर्षपछि पहिलो हार

दोहा। कतार विश्वकपकै एक स्तब्धपूर्ण नतिजाका रुपमा साउदी अरबले मंगलबार साँझ दुईपटकको विजेता अर्जेन्टिनालाई २/१ गोलले हराएको छ।

समूह सीको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता लिएर पनि जोगाउन सकेन। साउदी अरबले दोस्रो हाफको सुरुवातमै दुई शानदार गोल गर्दै अर्जेन्टिनालाई पछाडि पारेको थियो। त्यसअघि पहिलो हाफमा लियोनल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

अर्जेन्टिनाले विश्वकप फुटबलमा ३२ वर्षपछि पहिलो खेलमै हार ब्यहोरेको थियो। यसअघि सन् १९९० को विश्वकपमा अर्जेन्टिना पहिलो खेलमै पराजित भएको थियो। त्यतिबेला अफ्रिकी टोली क्यामरुनले अर्जेन्टिनालाई १(० गोलले हराएको थियो। तर त्यतिबेला अर्जन्टिना पछि फाइनलसम्म पुगेको थियो।

यस्तै अर्जेन्टिनाल‍े विश्वकपका खेलमा सुरुवाती अग्रता लिएर हार ब्यहोरेको ६४ वर्षपछि पहिलोपटक हो। यसअघि सन् १९५८ मा अन्तिमपटक अर्जेन्टिना सुरुवाती अग्रता लिएर पनि पराजित भएको थियो।

कतार विश्वकपअघि अर्जेन्टिना शानदार लयमा थियो। उसले ३६ खेलयता हार ब्यहोरेको थिएन र साउदी अरबसँग बराबरी मात्र खेलेको भए अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेलको अपराजित यात्राको विश्व कीर्तिमान बराबरी गर्ने थियो।

यसअघि अर्जेन्टिनाले अन्तिमपटक सन् २०१९ मा ब्राजिलसँग हार ब्यहोरेको थियो कोपा अमेरिकाको सेमिफाइनलमा। यता साउदी अरब भने खराब लयबीच कतार विश्वकप खेल्न पुगेको थियो। साउदी अरबले पछिल्ला १० खेलमा केवल २ जित मात्र हात पार्न सकेको थियो।

साउदी अरब विश्वकप फुटबलमा एकपटक मात्र समूहगत चरण पार गरेको इतिहास छ। पहिलो सहभागितामै सन् १९९४ मा साउदी अरब प्रिक्वाटरफाइनलसम्म पुगेको थियो। त्यसपछिका लगातार तीन संस्करणमा सहभागी भएपनि पहिलो चरण पार गर्न सकेको थिएन।

सन् २०१० र २०१४ को विश्वकपमा छनोट हुन नसकेको साउदी अरबले सन् २०१८ को सहभागितामा एक जित हात पारेपनि फेरी पहिलो चरण पार गर्न सफल भएन। अब समूहमा अर्जेन्टिना र साउदी अरब दुवैले पोल्यान्ड र मेक्सिकोसँग खेल्नेछन्।