उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले बाह्रबनको कारोबार बन्द गर्ने प्रक्रिया शुरु ग¥यो

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले बाह्रबनको कारोबार बन्द गर्ने प्रक्रिया शुरु ग¥यो

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको निर्देशन अनुसार बाह्रबन साझेदारी बनको सम्पूर्ण कामकाज बन्द गर्ने प्रक्रिया शुरु भएको छ ।

मन्त्रालयले चैत २६ गते डिभिजन वन कार्यालय धनगढीलाई कारोकार बन्द गर्न बाह्रबन साझेदारी वन ब्यवस्थापन समितिका नाममा पत्र लेख्न भन्दै निर्देशन दिएको छ ।

मन्त्रालयले डिभिजन बन कार्यालय धनगढीलाई पठाएको चलानी नम्बर ७९५ को पत्र अनुसार वनको चोरी, हानी, नोक्सानी हुन नपाउने संरक्षणात्मक बाहेक सम्पूर्ण कामकाज बन्द गर्न भनिएको छ ।

गत २१ गते अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले बाह्रबन साझेदारी बनका बारेमा अध्ययन गर्न गठन गरेको उपसमितिले सो समितिको सम्पूर्ण कारोबार बन्द गरी छानवीन हुनुपर्ने सुझाव सहितको प्रतिवेदन पेश गरेको थियो । सोही प्रतिवेदनका आधारमा समितिले मन्त्रालयलाई पत्राचार गरेको थियो ।

मन्त्रालयले पठाएको पत्रमा संसदीय समितिको निर्देशन कार्यान्वयन गर्न समितिले आफ्नो सम्पूर्ण कारोबार बन्द गर्नु पर्ने उल्लेख छ । मन्त्रालयले सो बनको कारोबार बन्द गर्दा आइपर्ने समस्या र त्यसको समाधानका उपाय समेत सुझाएर १० दिनभित्र मन्त्रालयलाई जानकारी दिन पनि डिभिजन बन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयका उपसचिव यज्ञमूर्ति खनालले कारोबार बन्द गर्न संसदीय समितिको निर्देशन अनुसार आफुहरुले डिभिजनलाई पत्र लेखेको र डिभिजन वन कार्यालयले कुनै समस्या पर्ने भए त्यसको कारण सहित मन्त्रालयलाई खबर गरेपछि बाह्रबनको कारोबार बन्द गरिने जानकारी दिनुभयो । मन्त्रालयले सो पत्रको बोधार्थ अर्थ, विकास तथा प्राकृतिक स्रोत समिति र प्रादेशिक वन निर्देशनालयलाई पठाएको छ ।