कमल थापाका दुर्दिन : ‘एमाले’ बन्दा पनि टरेन हार

कमल थापाका दुर्दिन : ‘एमाले’ बन्दा पनि टरेन हार

काठमाडौं । नेपाली राजनीतिका एक चतुर खेलाडी कमल थापा पछिल्ला दिनहरुमा अधोगतिमा छन् । पार्टीको आन्तरिक प्रतिस्पर्धामा अनपेक्षित धक्का खाएको चोटमा खाटा नबस्दै उनलाई राष्ट्रिय चुनावले अर्को घाउ थपिदिएको छ । मकवानपुर–१ बाट उम्मेदवारी दिएका थापाले मतगणना जारी छँदै हार स्वीकार गरिसकेका थिए ।

उनी दोस्रो पनि हुन सकेनन् । अझै दिक्कलाग्दो के भने उनी जुन पार्टी फुटाएर निस्किए, त्यसकै उम्मेदवारबाट पराजित भए । पछाडिबाट आएर दुईजनालाई ओभरटेक गर्दै राप्रपाका दिपक सिंह विजयी बन्दा कमल थापा फेरि एकपटक तिल्मिलाएका छन् ।

यसपाली उनले आफैंले गठन गरेको राप्रपा नेपाल पार्टीमा भरोसा नभएर एमालेको चुनाव चिन्ह लिएर लडेका थिए । चुनावी जितकै लागि उनले आफ्नो सारा राजनीतिक पृष्ठभूमि लुकाउँदै ‘एमाले उम्मेदवार’ बन्न तयार भए । एमाले अध्यक्ष केपी ओलीले पनि थापाप्रति सदासयता देखाउँदै उम्मेदवारी दिन ठिक्क परेका मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानालाई ब्याक गराए र थापालाई सूर्य चिन्ह बोकाए । तर, पनि थापा जोगिएनन् ।

पराजित भएपछि थापाले सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष ओलीसँग आत्मालोना गरेका छन् । उनले लेखेका छन्, ‘मलाई विश्वास गर्नुभएकोमा धन्यवाद । तर तपाईंको विश्वास जोगाउन नसकेकोमा दुःखी छु ।’ अर्को स्टाटसमा थापाले पराजयलाई सहर्ष स्वीकार्ने बताएका छन् । चुनावमा रातदिन नभनि इमान्दारितापूर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरुप्रति आभार व्यक्त गरेका छन् । देश र जनताको हितमा निरन्तर सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘२०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ । प्रजातान्त्रिक अभ्यासमा हारजित स्वभाविक हो । व्यक्ति हारे पनि देश जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ,’ थापाले भनेका छन् ।

आमनिर्वाचनमा हारपछि थापाले दिएको नरम प्रतिक्रिया यसअघि उनले पार्टीको निर्वाचनमा हार्दा दिएको उत्तेजक प्रतिक्रियाभन्दा निकै भिन्न छ । त्यसबेला पनि यदि हारलाई यसैगरी सहजरुपमा स्वीकारेर पार्टीमा स्थापित नयाँ नेतृत्वलाई स्वीकारेर बसेको भए सायद थापाको राजनीतिमा एमालेको चिन्हबाट चुनाव लड्नु पर्नेसम्मको दुर्दिन आउने थिएन । कम्तिमा हिन्दूहरुको महान ग्रन्थ गीताको इज्जत राखिदिएको भए आज दिपक सिंहले बोकेको विजयको झण्डा थापाको हातमा हुन सक्थ्यो ।

थापाले चुनाव किन हारे भन्ने मन्थनमा धेरै दिमाग खेलाइरहनुपर्ने अवस्था पनि छैन । पार्टी महाधिवेशनमा खेपेको पराजयलाई पचाउन नसकेर दिएका अवाञ्छित प्रतिक्रियाहरुका कारण नै उनले आफ्नो लोकप्रियता गुमाइसकेका थिए । जुन राजसंस्थाको एजेन्डा बोकेर आफ्नो राजनीति यहाँसम्म डोहोर्याए, त्यही राजसंस्थालाई नानाभाति लाञ्छना लगाएपछि उनको सैद्धान्तिक धरातल डग्मगाइसकेको थियो । अहिले आएर चुनाव जित्नकै लागि अर्को पार्टीको उम्मेदवार बन्न तयार हुँदा उनी पूरै सिद्धान्तहीन देखिए ।

त्यसो त अघिल्लो चुनावमा पनि थापाले पराजय नै भोगेका हुन् । त्यसबेला उनलाई कांग्रेसको समर्थन थियो तर, एमाले उम्मेदवारबाट पराजित भए । त्योभन्दा अहिलेको हार उनका लागि पीडादायी किन छ भने यसपाली राप्रपाका उम्मेदवारले उनलाई हराए । पञ्चायतकालदेखि आफूलाई साथ र समर्थन दिँदै आएका दिपक सिंहले चुनाव जिते । उनको जित पनि नाटकीय भयो । मतगणनाको मध्यान्तरसम्म सिंह मुख्य प्रतिस्पर्धामा नै थिएनन् । तर, शहरी क्षेत्रमा मतगणना प्रवेश गर्नासाथ सिंहले बुर्कुसी मार्न थाले । हेटौंडा उपमहानगरपालिकाका २ वटा वडाको मतगणना बाँकी रहँदा बल्ल उनी पहिलो स्थानमा आएका थिए । अन्ततः दुई हजारभन्दा बढीको राम्रो मार्जिनले सिंहले चुनाव जितेका छन् ।

चुनावमा जितहार त भइरहन्छ । तर, कमल थापाको हकमा यो हारले उनको राजनीतिक जीवनलाई नै अप्ठेरोमा धकेलिदिएको छ । चुनावी प्रतिस्पर्धामा उनको पार्टी राप्रपा नेपालको कतै नामोनिशान छैन । कम्तिमा आफूले चुनाव जितेको भए सान्त्वना मिल्न सक्थ्यो । त्यो पनि भएन ।

अर्कोतर्फ थापाले नै फुटाएर हिँडेको राप्रपाले चुनावमा सुखद नतिजा ल्याइरहेका छन् । सो पार्टीका ठूला हस्तिहरुले भटाभट चुनाव जितेका छन् । अघिल्लो निर्वाचनमा गुमेको राष्ट्रिय पार्टीको हैसियत राप्रपाले फर्काउने पक्कापक्की छ । राप्रपाको यो सफलता कमल थापा किनारामा बसेर टुलुटुलु हेरिरहेका छन् । राजनीतिमा आवेश र उत्तेजनाको निर्णयले कसलाई कहाँ पुर्याउँछ भन्ने उनी एक ज्वलन्त उदाहरण बनेका छन् ।