डोटीबाट प्रत्यक्ष तर्फ निर्वाचित आले, मल्ल र ओलीलाई प्रमाणपत्र वितरण

डोटीबाट प्रत्यक्ष तर्फ निर्वाचित आले, मल्ल र ओलीलाई प्रमाणपत्र वितरण

डोटी ।  डोटीबाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा निर्वाचित उम्मेदवारलाई प्रमाण पत्र प्रदान गरिएको छ । आज प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रेम आले मगर, प्रदेश सभा क बाट निर्वाचित चक्र मल्ल र प्रदेश सभा क बाट निर्वाचित शिव सिंह ओलीलाई मुख्य निर्वाचन अधिकृत शिव लाल पाण्डेले प्रमाण पत्र प्रदान गर्नुभएको छ । दुवै प्रदेश सभाको हिजो दिउँसो र प्रतिनिधि सभाको अन्तिम मत परिणाम आज बिहान सार्वजनिक भएको हो ।

प्रतिनिधि सभामा एकीकृत समाजवादीका प्रेमबहादुर आले मगर २७२१० मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गौरी वलीले २३ हजार ४ र स्वतन्त्र उम्मेदवार नरेन्द्र बहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गर्नुभएको छ । आले र वली बिच ४२०६ मतान्तर रहेको छ । आले सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको हो ।

प्रदेश सभा क मा एमालेका उम्मेदवार चक्र मल्ल १५२७९ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्र बहादुर सिंहले १४८२९ मत पाउनुभएको थियो । मल्ल र सिंह बिच ४५० को मतान्तर रहेको छ । निर्वाचित मल्ल एमालेका डोटी जिल्ला अध्यक्ष हुनुहुन्छ ।

प्रदेश सभा ख मा सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्र डोटी इन्चार्ज शिव सिंह ओली विजयी हुनुभएको छ । ओली १४०४७ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार टेक बहादुर बमले १३१२८ मत पाउनुभएको थियो ।ओली र मल्ल बिच ९९१ मतको अन्तर छ । विजयी उम्मेदवारहरूले विजयी र्‍याली निकाल्न सुरु गरेका छन् । गठबन्धनका तर्फबाट निर्वाचित आले र ओलीले आजबाट विजयी र्‍याली सुरु गर्नुभएको छ भने एमालेबाट निर्वाचित मल्लले हिजैबाट सुरु गरिसक्नुभएको छ । यस्तै जिल्लामा समानुपातिक मतगणना जारी रहेको छ ।