सुदूरपश्चिममा कांग्रेस अगाडि

सुदूरपश्चिममा कांग्रेस अगाडि

धनगढी   सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभाका १६ मध्ये अहिले ११ क्षेत्रको परिणाम सार्वजनिक भएको छ । चार क्षेत्रको मतगणना भइरहेको छ । बाजुराको एक मतदान स्थलमा भने मङ्सिर १० गते मतदान भएपछि मात्र गणना हुने सम्भावना छ । 

अहिलेसम्मको परिणामअनुसार नेपाली कांग्रेसले छ, नेकपा (एकीकृत समाजवादी) तीन र नागरिक उन्मुक्ति पार्टीले दुई क्षेत्रमा विजय हासिल गरेका छन् ।  

नेपाली कांग्रेसबाट अहिलेसम्म डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, दार्चुलाबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, कञ्चनपुर क्षेत्र नं. २ बाट एनपी साउद, कञ्चनपुर क्षेत्र नं. ३ बाट रमेश लेखक, कैलाली क्षेत्र नं. ४ बाट वीरबहादुर बलायर र अछाम क्षेत्र नं. २ बाट पुष्पबहादुर शाह विजयी हुनुभएको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको अछाम क्षेत्र नं. १ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर विजयी हुनुभएको छ । उहाँ नेकपा (एकीकृत समाजवादी)का नेता हुनुहुन्छ । यस्तै नेकपा (एकीकृत समाजवादी)कै नेताहरू क्रमशः बझाङबाट भानुभक्त जोशी र डोटीबाट प्रेम आलेमगर विजयी हुनुभएको छ । 

यस्तै कैलाली क्षेत्र नं. १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी विजयी हुनुभएको छ । यसअघि कैलाली क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी विजयी हुनुभएको थियो । 

बलायर विजयी

धनगढी समाचारदाताका अनुसार कैलाली निर्वाचन क्षेत्र नं। ४ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलायर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

पूर्वमन्त्रीसमेत रहनुभएका उहाँले पूर्वमन्त्री एवं नेकपा ९एमाले०का उम्मेदवार लेखराज भट्टलाई तीन हजार ५८४ मतान्तरले पराजित गरेर प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो । विजयी बलायरले २६ हजार १७१ र पराजित भट्टले २२ हजार ५८७ मत प्राप्त गर्नुभयो ।

निर्वाचनमा विजयी बलायर नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति हुनुहुन्छ । त्यस्तै पराजित भट्ट नेकपा (एमाले) का केन्द्रीय सचिव र सुदूरपश्चिम प्रदेश इन्चार्ज हुनुहुन्छ । 

यसअघि बलायरले २०७० को संविधान सभाको निर्वाचन डोटीबाट जित्नुभएको थियो । पराजित हुनुभएका भट्टले भने २०६४ र २०७४ को निर्वाचन कैलाली–४ बाटै जित्नुभएको थियो । २०७० सालको निर्वाचनमा उहाँ नेपाली कांग्रेसका दीर्घराज भाटसँग पराजित हुनुभएको थियो । 

उन्मुक्तिकी रञ्जिता विजयी

टीकापुर समाचारदाताका अनुसार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ १२ हजारको मतान्तरले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । श्रेष्ठले ३० हजार ४०४ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांगे्रसका उम्मेदवार रामजनम चौधरीले १८ हजार ८१ मत पाउनुभएको छ । अध्यक्ष श्रेष्ठ २०७२ सालमा भएको टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहनुभएका यही क्षेत्रबाट निर्वाचित पूर्वसांसद रेशमलाल चौधरीकी श्रीमती हुनुहुन्छ भने रामजनम नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुनुहुन्छ ।  

विजयी सभालाई सम्बोधन गर्दै श्रेष्ठले जनताको आवाज सुनेर सरकारले जेलमा रहेका रेशमलाल चौधरीलाई रिहा गर्नुपर्ने, सरकारले लगाएको मुद्दा फिर्ता लिनुपर्ने अन्यथा पार्टी आन्दोलनमा जाने बताउनुभयो ।

यहाँ नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावलले पाँच हजार ९१०, राप्रपाका लोकेन्द्र कुँवरले तीन हजार ६४८ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका टङ्कप्रसाद ढुङ्गानाले एक हजार ८६९ मत पाउनुभएको छ । यहाँ ६४ हजार ९९९ मत खसेको थियो ।

बझाङमा जोशीको जित

बझाङ समाचारदाताका अनुसार बझाङबाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवाद)का स्थायी समिति सदस्य भानुभक्त जोशी निर्वाचित हुनुभएको छ ।

उहाँ नेकपा (एमाले)का उम्मेदवार ऐन महरलाई ९९८ मतान्तरले पछि पार्दै  विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत नन्दकिशोरप्रसाद यादवका अनुसार जोशीले २८ हजार १४३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार ऐन महरले २७ हजार १४५ मत पाउनुभयो  । एक लाख २२ हजार ३७६ मतदाता रहेको बझाङमा ६१ हजार ५०६ जनाले मतदान गरेका थिए । तीमध्ये तीन हजार ४५९ मत बदर भएको छ ।

पूर्ववनमन्त्रीसमेत रहेका जोशीले बझाङबाट तेस्रो पटक जित हासिल गर्नुभएको हो । उहाँ २०५१ र २०६४ मा समेत नेकपा (एमाले) बाट विजयी हुनुभएको थियो  । २०४८ सालमा भने उहाँ पराजित हुनुभएको थियो ।