विदेशमा बढ्दै छ नेपाली चलचित्रको बजार

विदेशमा बढ्दै छ नेपाली चलचित्रको बजार

पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट  मुनाफासमेत प्राप्त गर्न थालेका छन्। 

नेपालमा राम्रो भनिएका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न दर्शक लालायित हुने भएकाले पनि केही चलचित्रले विदेशबाट राम्रै मुनाफा स्वदेश भित्र्याउने गरेका छन्।

निर्देशक प्रदीप भट्टराईले विदेशी बजारले गर्दा नेपाली चलचित्र निर्मातालाई चलचित्र बनाउन आँट आउने बताए। 

“स्वदेशी बजारबाट  लगानी गर्न प्रेरित नहुँदा विदेशमा भने प्रदर्शन गर्न अधिकार दिएबापत प्राप्त हुने रकमले हामीलाई सजिलो बनाएको छ”, उनले भने, “मैले निर्देशन गरेका चलचित्रले नेपाली बजारमा झैँ बाहिर पनि व्यापार गरेका छन्। यसले गर्दा हामीलाई लगानीमा सङ्कोच मान्नुपर्ने अवस्था छैन।”

शत्रु गते, जात्रै जात्रापश्चात् अहिले ‘महापुरुष’ विदेशमा प्रदर्शन भइरहेका छन्। महापुरुष चलचित्रले अमेरिकामा तीन सयभन्दा बढी शो गरिसकेको छ भने अस्ट्रेलिया र  युरोपका विभिन्न सहर, जापान, मध्यपूर्वी खाडी मुलुकमा समेत राम्रो व्यापार गरिरहेको छ। उल्लिखित देशमा अन्य विदेशी चलचित्र हेरिएझैँ हलमै पुगेर ‘महापुरुष’ पनि हेर्न सकिन्छ।