मोरङ– ३ मा अभिनेत्री रेखा थापा तेस्रो

मोरङ– ३ मा अभिनेत्री रेखा थापा तेस्रो

अभिनेत्री रेखा थापा मोरङ क्षेत्र नम्बर ३ मा पराजित भएकी छन्। कांग्रेसका सुनिलकुमार शर्मा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा राप्रपाबाट चुनाव लडेकी अभिनेत्री थापा दोस्रो पनि हुन सकिनन्। 

४८ हजार ६३१ मतसहित शर्मा विजयी हुँदा एमालेका भानुभक्त ढकाल २५ हजार ८९५ मत ल्याएर दोस्रो भए। राप्रपाबाट चुनाव लडेकी थापाले १० हजार ९९८ मत्रै प्राप्त गरेकी छन्।

सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले ३ हजार १७२ मत ल्याएर चौथो भएका छन्। 

मोरङ–३ एमाले नेता भानुभक्त ढकालको क्षेत्र हो। यो क्षेत्रमा कांग्रेसका नेता सुनिल शर्मा पनि ०७४ को निर्वाचनमा लडेका थिए। त्यतिबेला ढकाल निर्वाचित भएका थिए। ०७४ को प्रतिनिधिसभा निर्वाचनमा ढकालले ४२ हजार ४ सय १३ मत ल्याउँदा कांग्रेसका सुनिल कुमार शर्माले ४० हजार ५ सय ६ मत ल्याएका थिए। 

रेखा थापाको जन्मस्थान पनि मोरङ ३ कै सलकपुरमा पर्छ। आफू हुर्केको ठाउँ भएको र युवाको मत तान्न सक्ने भएकाले आफूले निर्वाचनको लागि मोरङ ३ रोजेको थापाको भनाई थियो।

चुनावमा पराजित भएपछि अभिनेत्री थापाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् कांग्रेस नेता शर्मालाई वधाई दिएकी छन्। 

‘मलाई माया र विश्वास गरेर मतदान गर्नुहुने मतदातालाई हार्दिक नमन गर्न चाहन्छु। मलाई सधैँ हौसला दिने अन्य हजारौँ नागरिकप्रति म सँधै कृतज्ञ रहिरहनेछु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘निर्वाचनका क्रममा अनेकौँ अनुभव हासिल गरेको छु। उम्मेदवार हुँदै गर्दा जित्नुपर्छ भन्ने लाग्नु अस्वभाविक होइन। तर निर्वाचित हुने एक जना मात्र हो। राजनीति लामो समयको यात्रा हो। यसमा जित्नु वा हार्नुको मात्र अर्थ रहँदैन।’