संसदमा पाँच जना फेरि विजयी

संसदमा पाँच जना फेरि विजयी

धनगढी । २०७४ सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका पाँच जना मात्र फेरि विजयी भएका छन् । विजयी हुनेमा दुई प्रतिनिधि सभामा र तीन जना प्रदेश सभाका छन् ।

कैलाली क्षेत्र नं. ५ बाट नेपाली काँग्रेसका डिल्लीराज पन्त र कञ्चनपुर क्षेत्र नं. १ बाट तारा लामा तामाङ नेकपा (एमाले) का प्रतिनिधि सभामा विजयी हुनु भएको छ । उहाँहरू २०७४ मा क्रमशः कैलाली क्षेत्र नं. ५ ’क’  र कञ्चनपुर क्षेत्र नं.१  ’क’ बाट विजयी हुनुभएको थियो । तामाङ प्रदेश सभामा नेकपा र नेकपा (एमाले) को प्रमुख सचेतक एवम् आर्थिक मामिला तथा योजना मन्त्री हुनुभएको थियो ।

प्रदेश सभामा फेरि विजयी हुनेमा नेकपा (एकीकृत समाजवादी) का नेताहरू क्रमशः बहालवाला भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी कैलाली क्षेत्र नं। ४ ’क’ र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर रावल कञ्चनपुर क्षेत्र नं. ३ ’क’ रहनु भएको छ । यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री  तथा नेकपा )माओवादी केन्द्र) का नेता मानबहादुर धामी दार्चुला ’ख’ बाटै फेरि विजयी हुनुभएको छ ।

५३ सदस्यीय प्रदेश सभाका १५ जना प्रदेश सभा सदस्य चुनावमा फेरि उठेका थिए । १५ मध्ये तीन जना प्रतिनिधि सभाका उम्मेदवार भएका थिए । कैलाली क्षेत्र नं. ५ बाट नेपाली काँग्रेसका डिल्लीराज पन्त र कञ्चनपुर क्षेत्र नं. १ बाट तारा लामा तामाङ प्रतिनिधि सभा सदस्यमा विजयी भए पनि अछाम क्षेत्र नं. १ बाट नेकपा (एमाले) कै झपटबहादुर बोहरा पराजित हुनुभयो ।

पराजित हुने प्रदेश सभा सदस्यमा डडेलधुरा ’क’ बाट पठानसिंह बोहरा र बैतडी ’क’ बाट लीलाधर भट्ट रहनुभएको छ । उहाँहरू नेकपा (एमाले) का उम्मेदवार हुनुहुन्थ्यो । यस्तै कैलाली ’ख’ बाट बहालवाला आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल र डडेलधुरा ’ख’ बाट सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा पराजित हुनुभयो । उहाँहरू नेपाली काँग्रेसका उम्मेदवार हुनुहुन्थ्यो ।

नेकपा (एकीकृत समाजवादी) का नेताहरू क्रमशः कैलाली क्षेत्र नंं. ३ ’ख’ बाट  अमरबहादुर साउद र कञ्चनपुर क्षेत्र नंं. २ ’ख’ बाट लालबहादुर खड्का पराजित हुनुभयो । साउद गठबन्धनकै उम्मेदवार हुनुहुन्थ्यो भने खड्का एक्लै चुनाव लड्नुभएको थियो । कैलाली क्षेत्र नंं. १ ’क’ बाट  रतन, ’ख’ बाट नेकपा (माओवादी केन्द्र ) का नेता  नन्दबहादुर साउद पराजित हुनुभयो । उहाँ सोही क्षेत्रबाट २०७४ मा विजयी हुनुभएको थियो ।

यस्तै कैलाली क्षेत्र नंं. १ ’क’ बाट कृष्णबहादुर चौधरी र कैलाली क्षेत्र नं। २ ’क’ बाट रतन थापा पराजित हुनुभयो । चौधरी लोकतान्त्रिक समाजवादी  पार्टी र थापा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बन्नुभएको थियो ।पराजित हुने डडेलधुराका पठानसिंह बोहरा, कञ्चनपुरका लालबहादुर खड्का प्रदेश सरकारका पूर्व मन्त्री र कैलालीका अमरबहादुर साउद पूर्व राज्यमन्त्री हुनुहुन्छ । 

बाजुरा ’क’ मा प्रदेश सभा सदस्य बलदेव रेग्मी नेकपा (एमाले) को उम्मेदवार बन्नुभएको छ । बाजुरामा अझै मतगणना हुनसकेको छैन ।