सुनसरी–४ मा मतगणना सुचारु गर्न आयोगको निर्देशन

सुनसरी–४ मा मतगणना सुचारु गर्न आयोगको निर्देशन

मोरङ । सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुचारु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

जारी मतगणनाका क्रममा शुक्रबार ६ सय ६ मत गडबढ भएको आरोपसँगै गठबन्धन दल कांग्रेसले आयोगसमक्ष सबै मतगणना पुनः सुरुबाट गर्न मागसहित निवेदन दिएको थियो।


यद्यपि, कांग्रेसले दिएको निवेदनको २४ घण्टापछि आयोगले पत्र पठाएर गणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको हो।

निर्वाचन क्षेत्र नम्बर ४ स्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार आयोगबाट मतणनालाई अघि बढाउन पत्र आएको हुँदा सर्वदलीय बैठकसहित गणना कार्य सुरु हुनेछ।

यससँगै आयोगले मतदान केन्द्रको मतगणना भई मतपत्र सिलबन्दी भइसकेको अवस्था र सिलबन्दी मतपत्र खोलेर पुनः मतगणना गर्न सक्ने कानुनी आधार नदेखिएको जनाएको छ।

यससँगै आयोगले मतगणनास्थलमा सिसिटिभि रहेको अवस्थामा त्यसको फुटेज सुरक्षित राखेर सम्बन्धित पक्षले हेर्न चाहेमा उपलब्ध गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आदेश दिएको छ।

बराह क्षेत्र नगरपालिका ८ को मतगणना हुने क्रममा शुक्रबार राति गणनामा खटिएका कर्मचारीले ६ सय ६ मतमा गडबडी गरेको आरोप कांग्रेसले लगाउँदै आएको छ।