बाजुरामा मतगणना सुरु भएन, आज पनि सर्वदलीय बैठक

बाजुरामा मतगणना सुरु भएन, आज पनि सर्वदलीय बैठक

बाजुरा । निर्वाचन आयोगले बुधबार दिउँसो मतगणनाका लागि निर्देशन दिएपछि बाजुरामा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन ।

निर्वाचन आयोगको निर्देशन लगत्तै मतगणना सुरु गर्नका लागि त्यहाँ सर्वदलीय बैठक बोलाइएको थियो। तर, बुधबार बोलाइएको बैठकमा नेकपा एमालेका प्रतिनिधिहरू उपस्थित नभएपछि मतगणना सुरु हुन सकेको थिएन।

बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार आज (१५ मंसिर) बिहान लागि पुनः सर्वदलीय बैठक बोलाइएको छ।  सर्वदलीय बैठकपछि मात्रै निर्णय हुने उनले बताए। 

मतदानको दिन बाजुराका विभिन्न ठाउँमा गरेर २० भन्दा बढी ठाउँको मतदानमा विवाद उत्पन्न भएको थियो। जसले गर्दा बाजुरामा पुनः निर्वाचन गराउने वा मतगणना गर्ने अन्योल थियो। 

मतदानको दिन बाजुराका विभिन्न ठाउँमा झडप, मतदानस्थल तोडफोड, ढुंगामुढा प्रहार, मतपेटिका जलाउने, प्रहरीद्वारा हवाई फायर, मतदाता लखेटिएका लगायत घटना भएका थिए।

मतदानको क्रममा भएको विवादले गर्दा नै बाजुरामा दुई जनाले ज्यान पनि गुमाए। बाजुराको बुढीगंगा, बुढीनन्दा, स्वामीकार्तिक खापर, खप्तड छेडेदह, त्रिवेणी र जगन्नाथ लगायत २३ ठाउँमा पुनः मतदान हुनु पर्ने माग गर्दै एमाले र कांग्रेसले निवेदन दिएको थियो।