निषेधाज्ञा तोड्दै विद्यार्थी आन्दोलनमा

निषेधाज्ञा तोड्दै विद्यार्थी आन्दोलनमा

धनगढी ।  धनगढीमा ग्रेडरको ठक्करबाट छात्राको मृत्यु भएपछि विद्यार्थीले आन्दोलन गरिरहेका छन् । उनीहरूले ग्रेडरले च्यापेर छात्राको मृत्यु भएको भन्दै चर्को नारा सहित आन्दोलन गरिरहेका हुन् । 

उक्त घट्नामा तनाव साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । तर निषेधाज्ञा तोड्दै विद्यार्थी आन्दोलन गरिरहेका छन् ।

बिहीबार बिहान साइकल चढेर विद्यालय जाँदै गरेकी १४ वर्षकी चेतना साउदलाई सडक सम्याउँदै गरेको ग्रेडरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । 

त्यसपछि स्थानीय बासिन्दा र पद्मोदय माध्यमिक विद्यालय हसनपुरका विद्यार्थीले दिनभर प्रदर्शन गरेका थिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रदर्शनका क्रममा भएको अराजक गतिविधि नियन्त्रण गरी सर्वसाधारण नागरिकको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गर्न बिहीबार साँझ ७ बजेदेखि  निषेधाज्ञाको आदेश जारी गरेको बताएका छन् ।

यस्तै थापाले कारवाहीको दायरामा ल्याउन प्रशासन प्रतिबद्ध रहेको बताउँदै स्थिति सामान्य बनाउन पीडित पक्षसँग संवाद भएको समेत बताएका छन् । उनले यसमा छलफल भइरहेको हुँदा सबैलाई सहयोग गरिदिन हुन् आग्रह समेत गरे । उनले विद्यार्थी तथा अभिभावकसँग पनि छलफल भइरहेको बताएका छन् ।