सुदूरपश्चिम : समानुपातिकमा कुन पार्टीले कति सिट पाउँदैछन्?

सुदूरपश्चिम : समानुपातिकमा कुन पार्टीले कति सिट पाउँदैछन्?

उमेश श्रेष्ठ । सुदूर पश्चिम प्रदेशमा शनिबार राति यो समाचार तयार पार्दासम्म बाजुराको एउटा क्षेत्र बाहेक सबै ठाउँको परिणाम आइसकेको छ। निर्वाचन परिणामले यस पटक ५३ सदस्यीय प्रदेश सभामा कुनै दलको पनि बहुमत नआउने प्रष्ट भइसकेको छ। 

प्रत्यक्ष निर्वाचित हुने ३२ सिट मध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी ११ सिटमा जित र १ सिटमा अग्रता कायम गरेको छ। ८ सिटका साथ माओवादी केन्द्र दोस्रो भएको छ भने पहिलो पटक चुनाव लड्दै गरेको नागरिक उन्मुक्ति पार्टीले ५ सिट जितेको छ। 

नेकपा एमाले र एमालेबाट टुक्रिएर बनेको नेकपा (एकीकृत समाजवादी)ले तीन तीन सिट जितेको छ। स्वतन्त्रले एक सिट जितेको छ। 

समानुपातिकमा एमाले अगाडि

समानुपातिकतर्फका २१ सिटका लागि भएको निर्वाचनमा कसले कति सिट जित्छ भन्ने निर्वाचन आयोगले घोषणा गर्न बाँकी छ। 

तर प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ ले व्यवस्था गरे अनुसारको मत परिणाम विभाजक सूत्र र १.५ प्रतिशतको थ्रेसहोल्ड अनुसार हालसम्म गणना भएको मत अनुसार समानुपातिक निर्वाचनमा भने धेरै भोट ल्याएर एमालेले बढी सिट जित्ने देखिएको छ। एमालेले हालसम्मको गणना अनुसार समानुपातिकमा ७ सिट ल्याउने देखिन्छ। नेपाली कांग्रेस भने समानुपातिकमा ६ सिटमा सीमित हुने देखिन्छ। 

त्यसैगरी माओवादी र नागरिक उन्मुक्ति पार्टी दुवैले ३-३ सिट पाउने छन् भने राप्रपा र नेकपा एसले पनि एक सिट जित्नेछ। 

यस्तो हुनेछ प्रदेश सभाको संरचना

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सिट आवश्यक हुन्छ। तर कुनै पनि दलले बहुमत जुटाउन सकेका छैनन्। 

१८ सिटसहित सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बन्नेछ भने ११ सिट जितेको माओवादी दोस्रो ठूलो दल बन्नेछ। एमाले भने १० सिटका साथ तेस्रो शक्ति बन्दैछ। 

नागरिक उन्मुक्ति पार्टी ८ सिटका साथ चौथो शक्ति रहनेछ भने नेकपा एसले चार सिट पाउनेछ। राप्रपा र स्वतन्त्रको एक सिट रहनेछ। 

कसको बन्ला सरकार ?

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी र नेकपा एसको संयुक्त सिट ३३ रहेकोले बहुमत पुग्छ। तर वर्तमान गठबन्धन टुक्रिएमा सरकार बनाउन ८ सिट सहितको नागरिक उन्मुक्ति पार्टी निर्णायक अवस्थामा रहनेछ।

माओवादी र नेकपा एस गठबन्धनबाट अलग भएमा कांग्रेस (१८) लाई सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी (८) र थप एक सिट जरुरी हुन्छ।   

कांग्रेस बाहेकको सरकार बन्न पनि सम्भव देखिन्छ। तर यसका लागि माओवादी, एमाले र नागरिक उन्मुक्ति पार्टीको गठबन्धन बन्न जरुरी हुन्छ। 

नागरिक उन्मुक्ति पार्टी बिनाको गठबन्धन बनाउने हो भने माओवादी, एमाले, नेकपा एसमात्र हैन राप्रपा र एक स्वतन्त्रको पनि समर्थन जरुरी हुन्छ। 

विस्त‌ृतमा : https://public.flourish.studio/visualisation/12047130/