विद्यार्थीका लागि निःशुल्क यातायात सेवा

विद्यार्थीका लागि निःशुल्क यातायात सेवा


काठमाडौं । चितवन जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा शुरूआत गरेको छ ।

कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पुर्‍याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालका अनुसार नगरपालिकाभित्र बसोबास गरेर उच्च शिक्षा हासिल गर्ने विपन्न वर्गका विद्यार्थीलाई सार्वजनिक यातायातमा निःशुल्क गरिएको हो । यसका लागि यातायात व्यवसायीसँग सम्झौता भई कार्यान्वयनमा ल्याइएको उनले बताए ।


अहिले पालिकाले विपन्न वर्गका विद्यार्थीका लागि आर्थिक अभावका कारण शिक्षाको पहुँचबाट वञ्चित बन्नु नपरोस् भनेर यो कार्यक्रम ल्याएको उनले जानकारी दिए । माडी क्याम्पस वसन्तपुर, दिवाकर स्मृति बहुप्राविधिक विद्यालय र १२ कक्षा सञ्चालनमा आएका ४ वटा माध्यमिक विद्यालयमा अध्ययनरत ६०० हाराहारी विद्यार्थी यो निर्णयबाट लाभान्वित बनेको उनले बताए ।

मंसिर १५ गतेबाट सेवा सञ्चालनमा आएको हो । यो निर्णयबाट वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिसमेत लाभान्वित बन्ने छन् । वृद्धवृद्धालाई यातायतामा ५० प्रतिशत र अपाङ्गता भएका व्यक्तिलाई शतप्रतिशत छुट दिने निर्णय भएको छ ।