आगामी सरकार कसको बन्ला ? यस्तो छ समीकरणका ५ सम्भावना

आगामी सरकार कसको बन्ला ? यस्तो छ समीकरणका ५ सम्भावना

अन्ततः मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सबै परिणाम १५ दिनपछि आज आएको छ। समानुपातिकतर्फका सदस्य निर्वाचित भएको घोषणा हुन अझै केही प्रक्रिया बाँकी छन्। तर कसको कति सिट आउँछ लगभग अनुमान गर्न सकिने भइसकेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत अर्थात् १३८ सिट कुनै पनि दलको नआएको प्रष्टै भएको छ। यस्तो अवस्थामा संविधान अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ। मतपरिणाम हेर्दा सत्तारुढ गठबन्धनलाई बहुमत पाउन दुई सिटमात्र कम भएको छ। तर गठबन्धनको प्रमुख घटक माओवादीले सरकार बनाउनका लागि सबै विकल्पमा सोच्ने बताएको छ। त्यसो भए अबको सरकार बन्न कस्ता समीकरणको सम्भावना गणितीय रुपमा छ तर ? 

सम्भावना १ : वर्तमान गठबन्धन कायम
सत्तारुढ गठबन्धनले यस पटकको चुनाव मिलेर लडेको थियो। त्यसैगरी एमाले नेतृत्वको विपक्षी गठबन्धनले पनि राप्रपा र जसपासँग केही सिटमा गठबन्धन गरी चुनाव लडेको थियो। नतिजा यस्तो आयो 

सत्तारुढ गठबन्धनको १३६ र विपक्षी गठबन्धनको १०३ सिट देखिन्छ। तर स्वतन्त्र रुपमा जितेका अमरेशकुमार सिंह कांग्रेसकै हुन्। त्यसैगरी प्रभु साह र उनी निकट एक जना स्वतन्त्र रुपमा जितेका छन्। उनीहरु माओवादी निकटका हुन्। यी तीन जनालाई सत्तारुढ गठबन्धनमा ल्याउन सकेमा उसकै बहुमत पुग्ने देखिन्छ।

तर माओवादीले आलोपालो सरकारको नेतृत्व गर्नुपर्ने र त्यसका लागि आफूले पहिलो पालो पाउनु पर्ने भन्दै सबै विकल्पमा सोच्ने बताएको अवस्थामा र राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतका संवैधानिक पदको भागवण्डासहितका कुरा मिलाउनु पर्ने अवस्थामा गठबन्धनमा खटपट आएर नयाँ गठबन्धन बन्न सक्ने सम्भावना छ।

सम्भावना २ : दुई दलको सरकार

गणितीय हिसाबमा सम्भव तर व्यवहारिक रुपमा गाह्रो सम्भावना हो। परिणाम अनुसार दुई दलको मात्र सरकार बन्नका लागि चाहिने सिट सबैभन्दा ठूलो दल कांग्रेस (८९) र एमाले (७७) सँग मात्र छ। दुई दल मिलेमा १६६ सिट पुग्छ। यो अवस्थामा ३२ सिट रहेको माओवादी प्रमुख प्रतिपक्षी बन्नेछ। दोस्रो संविधान सभाको निर्वाचन २०७० पछि पहिलो र दोस्रो ठूलो दल कांग्रेस र एमालेको संयुक्त सरकार बनेको थियो।

सम्भावना ३ : तीन दलको सरकार
गणितीय हिसाबमा तीन दलको सरकार बन्नका लागि कांग्रेस (८९), माओवादी (३२) र राष्ट्रिय स्वतन्त्र पार्टी (२१) को समीकरण आवश्यक हुन्छ। यी तीन पार्टीको संयुक्त सिट १४२ हुन्छ जुन बहुमत हो।

यस्तो अवस्थामा प्रतिपक्षमा १३३ सदस्य हुन्छन्।

सम्भावना ४ : माओवादीबिनाको सरकार
संसदमा तेस्रो शक्तिका रुपमा रहेको माओवादीले आफ्नो नेतृत्वमा आलोपालो सरकार चलाउनु पर्ने कुरा ल्याइरहेको बेला के माओवादी बिना पनि सरकार बन्न सम्भव छ त रु माओवादी बिना सरकार बन्ने पहिलो विकल्प कांग्रेस र एमालेको संयुक्त सरकार हो। दोस्रो विकल्पका रुपमा कांग्रेस (८९) ले सत्तारुढ गठबन्धनकै नेकपा एस (१०), लोसपा (४), जनमोर्चा (१) लाई मात्र हैन बिना गठबन्धन चुनाव लडेका राष्ट्रिय स्वतन्त्र पार्टी (२१), जनमत पार्टी (६), नागरिक उन्मुक्ति पार्टी (४ एक स्वतन्त्रसहित) लाई ल्याउँदा पनि १३५ मात्र भएर बहुमत पुग्दैन। यसका लागि स्वतन्त्र जितेका चार मध्ये कम्तिमा तीनको समर्थन आवश्यक हुन्छ। अथवा विपक्षी गठबन्धनमा रही चुनाव लडेका जसपा वा राप्रपामध्ये एकको समर्थन आवश्यक हुन्छ।

जसपा (१२) को समर्थन भएमा कांग्रेस (८९)ले राष्ट्रिय स्वतन्त्र पार्टी (२१), नेकपा एस (१०) र जनमत पार्टी (६)को सहयोगमा पनि सरकार बनाएर माओवादीलाई बाहिरै राख्न सक्ने गणितीय सम्भावना छ।

सम्भावना ५  कांग्रेस बिना एमालेसहितको सरकार
के सबैभन्दा धेरै सिट जितेर ठूलो दल बनेको कांग्रेस बिना पनि सरकार बन्न सम्भव छ त रु आलोपालोमा पहिले आफू प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका प्रचण्डलाई ओलीले शर्त मानेर पहिले सरकारको नेतृत्व गर्न दिई आफ्नो गठबन्धनमा ल्याएमा एमाले (७७) र माओवादी (३२) लाई बहुमत पुर्‍याउन २९ सिटको मात्रै कमी हुन्छ। विपक्षी गठबन्धनमै रहेको जसपा (१२) र राप्रपा (१४) को समर्थन यसका लागि पर्याप्त हुन्छ। अथवा राप्रपा अनिच्छुक भए घण्टी बजाए पनि भो (राष्ट्रिय स्वतन्त्र पार्टी २१)

५ वर्षमा कति वटा सरकार बन्ला ?
त्रिशंकु संसदको समीकरण हेर्दा कांग्रेस र एमाले दुवैले आफ्नो नेतृत्वमा वा आफूसहितको अरुको नेतृत्वमा सरकार बनाउन सक्ने सम्भावना छ। हेर्दै जानुस्, अब धेरै खेल हेर्न बाँकी नै छ। भनेपछि यो ५ वर्षमा अब कति वटा सरकार बन्ला त ? (श्रोत माई संसार)