लगानी दशक घोषणाको छ वर्ष पुरा: थपिएनन् ठुला उद्योग

लगानी दशक घोषणाको छ वर्ष पुरा: थपिएनन् ठुला उद्योग

धनगढी । २०७३ साल मंसिर २२ गते सुदूरपश्चिम महोत्सव २०७३ को समुदघाटनका क्रममा कैलाली उद्योग वाणिज्य संघले ‘लगानी दशक अभियान’ शुरुवात भएको घोषणा गर्यो । तर, घोषणाको ६ वर्ष पुरा भई सातौं वर्षमा प्रवेश हुँदै गर्दा प्रदेशमा ठुला लगानी भने उत्साहजनक रुपमा छैनन् ।

संघका निवर्तमान अध्यक्ष शंकर बोगटीले सुदूरपश्चिम महोत्सवलाई ‘सुदूरपश्चिममा लगानी भित्राउने थालनीका रूपमा मनाइने’ घोषणा गरेका हुन । स्रोतसाधनमा धनी भए पनि पूर्वाधार विकासमा राज्यको लगानी न्युन हुँदा सुदूरपश्चिममा आर्थिक विकासको गति सुस्त रहेकोले निजी क्षेत्रको लगानी भित्र्याउन आकर्षित गर्ने अवसरका रूपमा महोत्सवलाई उपयोग गरिने उनले प्रतिक्रिया दिएका थिए । बोगटीले भने– ‘साच्चै नै सुदूरपश्चिमको दु्रत आर्थिक विकास गर्नु छ भने राज्य र निजी क्षेत्रको लगानी बृद्धि गर्नैपर्छ ।’

उनले अभियानको घोषणा गर्दै देशभरीका लगानीकर्तालाई लगानी गर्न आह्वान गर्दै प्रोत्साहन पनि गरिने बताए ।
आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदन हेर्दा सुदूरपश्चिममा अहिलेसम्म नयाँ तथा ठुला लगानीकर्ताहरु आकर्षण भएको पाईदैन् । सो प्रतिवेदन अनुसार उद्योगमा सबैभन्दा कम लगानी सुदूरपश्चिम प्रदेशमा भएको उल्लेख छ । आर्थिक वर्ष २०७८÷७९ को फागुनसम्ममा प्रदेशमा उद्योगमा ४७ अर्व २१ करोड लगानी भएको उल्लेख छ ।

सो अवधिमा प्रदेशमा सबैभन्दा बढी साना र मझौला उद्योग बढी दर्ता भएका छन्  । सो प्रतिवेदन अनुसार प्रदेशमा साना ४४, मझौला १ र ठुला पाँच उद्योगले विदेशी लगानी भित्र्याउन स्वीकृत पाएका छन् । प्रदेशमा जम्मा ४१ हजार चार सय ५८ उद्योग रहेकोमा एक लाख ९५ हजार तीन सय १७ जना रोजगारमा रहेका छन्  । सो प्रतिवेदन अनुसार सो अवसरमा पाँच हजार छ सय ७७ कम्पनिहरु दर्ता भएका छन्  ।

प्रदेशमा ६ दशमलब ८२ प्रतिशतमात्र प्रतिष्ठान रहेका छन् । प्रदेशमा ६२ हजार नौ सय ३८ प्रतिष्ठान रहेको सो प्रतिवेदनमा उल्लेख छ । सो प्रतिष्ठानमा एक लाख २५ हजार ३२ पुरुष र ६० हजार एक सय ६८ महिला गरि एक लाख ८५ हजार दुई सय जनशक्ति रहेको प्रतिवेदनमा देखाइएको छ ।

कैलाली उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष शंकर बोगटीले सरकारले लगानीमैत्री नीति तथा कानुन नबनाउँदा प्रदेशमा नयाँ लगानी भित्र्न नसकेको बताए । ‘संघले विभिन्न कालखण्डमा औद्योगिक, आर्थिक, पूर्वाधार विकास लगायतका कुरामा पहल गर्दै आइरहेको छ तर, मुख्य बाँधक सरकारनै हो’ उनले भने ‘त्यसका साथ साथै हाम्रा कमजोरी पनि छन । सरकारले जुन नीति अख्तियारी गर्यो त्योनै यहाँको विकास हुन नसक्नुको मुख्य कारण हो ।’

सुदूरपश्चिममा औद्योगिक विकास हुन नसक्दा यहाँको आर्थिक समृद्धिमा समस्या रहेको बताए । ‘हामी अन्य प्रदेशसंग प्रतिष्पर्धि हुन सक्दैनौं । हामी ठुलो लगानी गर्छौ, उत्पादन पनि ठुलो ‘स्केल’मा छ’ उनले भने ‘तर,  हाम्रो बजार सानो छ र बाँकी उत्पादन बेच्न अरु ठाउँमा लग्नु पर्यो ।’

उनले कच्चा पदार्थ ल्याउन अन्तराष्ट्रिय स्तरको नाकाको व्यवस्था नभएको बताए । उनले सरकारले यथाशिघ्र गौरिफण्टा नाकाको स्तरोन्नति गर्नुपर्ने बताए ।

निवर्तमान अध्यक्ष दीनेश भण्डारीले आर्थिक समृद्धिको प्रमुख सवाल भनेको राज्यको नीति हुने बताउँदै ‘राज्यको एउटा कुनामा हामी छौं । हाम्रो बजार पनि काठमाडौं, नारायणघाटको बजार पनि काठमाडौं, भैरहवाको बजार पनि काठमाडौं हो । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म विशेष आर्थिक क्षेत्र छैन । कुराकानीमात्र गरिन्छ ।’ उनले सुदूरपश्चिममा सम्भावना रहेपनि सरकारको नीति, सडक सञ्जाल नहुनु प्रमुख समस्या रहेको बताए ।