कैलाली केन्द्रिय कार्यालय रहेको नागरिक उन्मुक्ति पार्टीले टुंग्यायो समानुपातिक सांसद

कैलाली केन्द्रिय कार्यालय रहेको नागरिक उन्मुक्ति पार्टीले टुंग्यायो समानुपातिक सांसद

नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फका प्रदेश सभा सदस्यहरूको नाम टुंगो लगाएको छ । काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश सभा सदस्यहरुको नाम टुंगो लगाएको हो ।

 

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको सिट बाँडफाँड सूची अनुसार रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २/२ र मधेश प्रदेशमा १ सिटसहित ५ सिट पाएको छ ।

पार्टीका महासचिव रतन थापाका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सुनिता चौधरी र दमोदर पण्डितको नाम टुंग्याइएको छ ।

यसैगरी लुम्बिनी प्रदेश सभा सदस्यको लागि रेणुका चौधरी र निर्मला चौधरीको नाम छनोट गरिएको हो । मधेश प्रदेश सभा सदस्यको लागि रामचन्द्र चौधरीलाई छनोट गरिएको महासचिव थापाले जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीले पत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा १ स्वतन्त्रसहित ४ सिट जितेको छ  भने प्रदेशतर्फ ७ सिट जितेको हो । 

यससँगै प्रतिनिधि सभामा ४, सुदूरपश्चिम प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ४ र मधेशमा १ गरी जम्मा १६ सिट जितेको हो ।

यस्तै, सचिवालय बैठकमा सरकारमा जाने वा नजाने विषयमा पनि छलफल भएको महासचिव थापाले बताए । टीकापुर राजबन्दी रिहाइसहित आफूहरूको माग मुद्दा सम्बोधन गरेको अवस्थामा सरकारमा जान सकिने तर सम्बोधन नभएको अवस्थामा कुनै पनि सरकारमा जान नसक्ने उनले स्पष्ट पारे ।

यसैबीच बैठकले आगामी बैशाख ४ देखि ६ गतेसम्म टीकापुरमा पार्टीको केन्द्रीय अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।