नीति निर्माण गर्दा सरकारले मानव अधिकारलाई केन्द्रमा राख्दै आएको छ: प्रधानमन्त्री देउवा

नीति निर्माण गर्दा  सरकारले मानव अधिकारलाई केन्द्रमा राख्दै आएको छ: प्रधानमन्त्री देउवा

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीति तथा कार्यक्रमहरू निर्माण गर्दा मानव अधिकारलाई केन्द्रविन्दुमा राख्दै कार्य गर्दै आइएको उल्लेख गरेका छन् ।

मानव अधिकार दिवसका अवसरमा शुभकामना सन्देशमार्फत दिँदै देउवाले  नेपालको संविधानले विश्वव्यापी रूपमा स्वीकार गरिएका मानव अधिकार अन्तर्गतका प्रायः सबै अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको बताए ।

ती अधिकारको हनन भएमा सक्षम र स्वतन्त्र न्यायपालिकाबाट प्रभावकारी उपचार पाउने कुरालाई संवैधानिक रूपमा नै सुनिश्चित गरिएको समेत उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले मौलिक हकको कार्यान्वयनका लागि आवश्यक कानून निर्माण भई कार्यान्वयनमा आइसकेका समेत जनाएका छन् । सन् १९४८ को डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको दिनको सम्झनामा प्रत्येक वर्ष आजको दिनलाई विश्व समुदायले मानव अधिकार दिवसका रूपमा मनाउँदै आएको छ ।

प्रधानमन्त्री देउवाले विश्व मानव अधिकार दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली, मानव अधिकारकर्मी संघसंस्था, नागरिक समाज, पत्रकार लगायत सम्बन्धित सबैमा शुभकामना व्यक्त गरेका छन् ।
 ‘मानव अधिकार मानव मात्रको नैसर्गिक अधिकार हो । मानव प्राणी भएको नाताले मानवले निर्बाध उपभोग गर्न पाउने सम्पूर्ण हक अधिकार यसअन्तर्गत पर्दछन् । मानव अधिकार लोकतान्त्रिक शासन व्यवस्थाको अभिन्न अंग हो । मानव अधिकार विनाको लोकतन्त्र अपूर्ण हुन्छ । यस विशेष अवसरमा म मानव अधिकारको संरक्षण, संवद्र्धन र कार्यान्वयनप्रति नेपाल सरकारको पूर्ण प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।