राप्रपाले तयार पार्‍यो २४ समानुपातिक सांसदको सूची

राप्रपाले तयार पार्‍यो २४ समानुपातिक सांसदको सूची

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समनुपातिकतर्फका २४ सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ । पार्टी केन्द्रीय कार्यसम्पादिन समितिको बैठकले दिएको जिम्मेवारी अनुसार अध्यक्ष राजेन्द् लिङ्देनले सूची निर्वाचन आयोगमा पठाएका हुन् ।

केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी लिङ्देनलाई दिएको थियो ।

सोहीअनुसार नेताहरुसँग परामर्शमा लिङ्देनले आयोगमा सूची पठाएको प्रवक्ता मोहन श्रेष्ठले बताए । तर, सूचीमा प्रतिनिधिसभातर्फ पूर्व अध्यक्ष पशुपति शमशेर राणाको नाम रहेको निश्चित भएपनि अन्यको विषयमा भने खुलाएको छैन ।

विशेषगरी प्रतिनिधिसभातर्फ २ पुरुषतर्फका २ सिटमा राणाको नाम अनुमोदन भएपनि पूर्वअध्यक्ष डा प्रकाश चन्द्र लोहनी रहने कि उपाध्यक्ष बुद्धिमान तामाङ रहने भन्ने विषयमा विवाद देखिएको नेताहरूको भनाइ छ ।

अन्य समानुपातिक नाममा पनि आकांक्षी धेरै भएपछि सूची गोप्य राखेर आयोगमा पत्राचार भएको बताइएको छ । राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश १ मा ४, मधेसमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद छानेको हो ।