संवेदनशील समूहका लागि खतरापूर्ण कैलाली र कञ्चनपुरको वायु

संवेदनशील समूहका लागि खतरापूर्ण कैलाली र कञ्चनपुरको वायु

धनगढी । कैलाली र कञ्चनपुरमा वायु प्रदुषण संवेदनशील समूहका लागि खतरायुक्त देखिएको छ । 

गुणस्तर सूचकांक (एक्यूआई) र सुक्ष्म कण पदार्थको मापन गर्दा यस क्षेत्रको वायु संवेदनशील समूहहरूको लागि खतरायुक्त देखिएको हो । 

मापन गर्दा ५१ देखि एक सय एक्युआईलाई मध्यम, एक सय एक देखि एक सय ५० सम्मलाई संवेदनशील समूहहरूको लागि अस्वस्थ, एक सय ५१ देखि दुई सयसम्मलाई अस्वस्थ, दुई सय एक देखि तीन सम्मको एक्यूआईलाई धेरै अस्वस्थ मानिन्छ । 

सोमबार धनगढीमा एक सय ३८ देखि एक सय ५३ एक्युआई मापन गरिएको थियो । यर्थाथ यो वायुप्रदुषण अस्वस्थहरुका लागि संवेदनशिल हो । 

त्यसअघि आइतबार धनगढीको एक्यूआई १३० रहेको थियो भने शनिबार एक सय २७ रहेको थियो ।

 कञ्चनपुरमा पनि वायुप्रदुषणको अवस्था ठिक त्यसै छ । आईतबार एक सय १० एक्यूआई थियो भने सोमबार मध्यम रहेको छ । कञ्चनपुरमा सोमबार एक्यूआई ९६ रहेको थियो ।

सरकारको वातावरण संरक्षण नियमावली, ०५४ ले तयार पारेको वायुको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड ०६९ ले पीएम् २.५ को मापदण्ड ४९ माइक्रोन प्रतिघनमिटर कायम गरेको छ । पीएम् २.५ भनेको सूक्ष्म कण हो । जसको व्यास २.५ माइक्रोनभन्दा कम हुन्छ । यस्ता धुलोका कण मानव स्वास्थ्यको दृष्टिकोणले सबैभन्दा हानिकारक मानिन्छन् ।

पीएम् २.५ धनगढीमा सोमबार २३ देखि एक सय ७८ मईक्रोन प्रति घनमिटर रहेको छ । धनगढीमा सूक्ष्म कर्ण विश्व स्वास्थ्य संगठनको वार्षिक वायु गुणस्तर निर्देशिका मापनको सात दशमलब आठ गुणा बढी रहेको छ ।

सुक्ष्म कण एक वायु प्रदूषक हो जुन हावाको स्तर उच्च हुँदा मानिसहरूको स्वास्थ्यको लागि चिन्ताको विषय हो ।

सुक्ष्म कणहरू श्वासप्रश्वास नली हुँदै फोक्सोसम्म पुग्ने चिकित्सकहरु बताउँछन् । फोक्सोबाट रक्तसञ्चार प्रणालीको माध्यमबाट शरीरको विभिन्न भागमा फैलिएर मुटु फोक्सो, तथा अन्य स्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउनुका साथै अन्य संक्रमण पनि गराउने चिकित्सकहरु बताउँछन् । सूक्ष्म कणहरूको एक्सपोजरले आँखा, नाक, घाँटी र फोक्सो जलन, खोकी, हाछ्युँ, नाक बग्ने र सास फेर्न जस्ता छोटो अवधिको स्वास्थ्य प्रभावहरू निम्त्याउने विज्ञहरुको भनाई छ । सूक्ष्म कणहरूको एक्सपोजरले फोक्सोको कार्यलाई पनि असर गर्न सक्छ र अस्थमा र हृदय रोग जस्ता चिकित्सा अवस्थाहरू बिग्रन सक्छ ।

विश्व स्वास्थ्य सगंठनले २०१६ मा गरेको पछिल्लो तथ्यांकअनुसार वायु प्रदूषणका कारण विभिन्न रोगबाट नेपालमा प्रत्येक बर्ष करिव १० हजार मानिसले ज्यान गुमाउने गरेका छन् । यस्तै, विश्व बैंक र रिसर्च इन्स्टिच्युट (आइएचएमई) ले सन् २०१६ मा गरेको अध्ययनअनुसार वायु प्रदुषणकै कारण नेपालमा वर्सेनि २२ हजारभन्दा बढीको मृत्यु हुने गरेको उल्लेख गरिएको छ ।

सूक्ष्म कणको जोखिम बढ्नुमा बाहिरी र भित्री कारण छन् । सूक्ष्म कणहरू मुख्यतया कार, ट्रक, बस र अफ–रोड सवारी साधन (जस्तै, निर्माण उपकरण, स्नोमोबाइल, लोकोमोटिभ) निकासबाट आउँछन् भने अन्य कार्यहरू जसमा इन्धन जलाउने कामहरू जस्तै काठ, तताउने तेल वा कोइला र प्राकृतिक स्रोतहरूमा हुने आगजनी पनि कारण रहेको छ ।

वायू प्रदुषण कायम रहने पूर्वानुमान
कैलाली र कञ्चनपुरमा अझै एक हप्तासम्म वायु प्रदूषण कायम रहने पूर्वानुमान रहेको छ । 

धनगढीमा मंगलबार एक सय ३८ देखि एक सय ५३ एक्यूआई पुग्ने पूर्वानुमान गरिएको छ । बुधबार एक सय ३८ देखि एक सय ५९, बिहिबार एक सय ५३ देखि एक सय ६९, शुक्रबार र शनिबार एक सय ३८ देखि एक सय ५९ एक्युआई रहने विश्व वायु गुणस्तरले पूर्वानुमान गरेको छ ।

कञ्चनपुरमा अझै ४ दिन वायु प्रदूषण कायमै रहने जनाइएको छ । कञ्चनपुरमा मंगलबार एक्युआई ९२, बुधबार एक सय दुई, बिहिबार एक सय आठ, शुक्रबार एक सय एक र शनिबार एक सय १९ पूर्वानुमान गरिएको छ ।

यी बानी अपनाउ
वायु प्रदूषण कैलाली र कञ्चनपुरमा बढी रहेको छ । सुक्ष्म कर्णका कारण मानिसहरु विरामी भईरहेपनि सावधानी अपनाइएको छैन । यसका कारण दैनिकजसो अस्पतालमा विरामीको संख्या बढ्दै गएको छ ।

वायु प्रदूषणबाट जोगिन संवेदनशील समूहहरूले बाहिर मास्क लगाउनु पर्ने, एयर प्युरिफायर चलाउनुपर्ने, फोहोर बाहिरी हावाबाट बच्न आफ्नो झ्यालहरू बन्द गर्नुपर्ने र सबैले बाहिरी व्यायाम कम गर्नुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

छैन प्रभावकारी कार्यक्रम
सुदूरपश्चिम प्रदेशको वातावरण संरक्षण क्षेत्रमा काम गर्ने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसंग भने वायु प्रदूषण घटाउने प्रभावकारी कार्यक्रम छैन ।

मन्त्रालयका वातावरण शाखा प्रमुख चन्द्र भण्डारीले वातावरण संरक्षण सम्बन्धी सचेतनामुलक कार्यक्रम भएपनि वायु प्रदूषण नियन्त्रणका लागि मन्त्रालयसंग कार्यक्रम नरहेको बताए ।

बढ्दो सवारी साधन, ठुल–ठुला पूर्वाधार विकासका योजना तथा कार्यक्रम सञ्चालन, बढ्दो जनघनत्व, आगजनी, डढेलो लगायतका कारण वायु प्रदूषण बढ्दै छ । यद्यपी मन्त्रालयले वन वातावरणलाई मात्र ध्यानमा राखेर कार्यक्रम तयार गरेको छ ।