मुख्य मन्त्री र मन्त्रीहरूलाई सम्मान, सडक निर्माणका लागी १५ दिनभित्र टेन्डर निकालिने

मुख्य मन्त्री र मन्त्रीहरूलाई सम्मान, सडक निर्माणका लागी १५ दिनभित्र टेन्डर निकालिने

धनगढी उप महानगरपालिकाले सुदूरपश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्ट र मन्त्रीहरुलाई सम्मान गर्दै धन्यवाद दिएको छ । मुख्य मन्त्री भट्ट संगै भौतिक पुर्वाधार बिकास मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला मन्त्री प्रकाश रावल र प्रदेशका प्रमुख सचिव नारायण प्रसाद शर्मा दुवाडीलाई सम्मान गर्दै धन्यवाद दिएको हो ।

धनगढी उप महानगरपालिकाको आग्रहमा प्रदेश सरकारले धनगढीको कैलाली पुल देखी क्याम्पसचोक सम्मको मुख्य सडक निर्माणका लागी ६० करोड बजेट बिनियोजन गरेपछि उप महानगरले प्रदेशका मुख्य मन्त्री लगायत मन्त्री र मुख्य सचिवलाई सम्मान गर्दै धन्यवाद दिएको हो । आज धनगढी उप महानगरपालिकाको सभाहलमा एक कार्यक्रमका बिच मेयर गोपाल हमाल र उप मेयर कन्दकला रानाले उनिहरुलाई सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा बोल्दै धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले मुख्य मन्त्री तथा प्रदेशका मन्त्री लगायत सचिवहरुलाई उप महानगरसंगको सहकार्यका लागी धन्यवाद दिए । उप महानगरको बजेटले हुन नसक्ने काममा प्रदेश सरकारले सहयोग गरेर बिकासमा हातेमालो गरेको भन्दै उनले धन्यवाद दिए । आगामी दिनमा यस्तै सहकार्य गर्न उनको आग्रह छ ।

सो सडक निर्माणका लागी उप महानगरले सडक क्षेत्र खाली गरिरहेको छ । अब सडक निर्माणका लागी १५ दिनभित्र टेन्डर निकाल्ने गरी सरकारले आन्तरिक तयारी थालेको छ । दुई बर्षभित्र सम्पन्न गर्ने गरी निर्माणको तयारी भएको सडक समयभित्रै शुरु र सम्पन्न हुने प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री दीर्घ सोडारीले दावी गरेका छन् । धनगढीको बजार भत्काउन समस्या थियो उनले भने “सो समस्या उप महानगरले हल गरिरहेको छ, अब हामीले काम शुरु चाँडै हुन्छ र २ बर्षभित्र सडक बन्ने छ ।”

कार्यक्रममा बोल्दै प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले प्रदेशको राजधानी रहेको धनगढीमा ठुलो योजना लागु गर्न सक्नु गौरवको बिषय रहेको बताए । हामीले बिषेशगरी दुर्गम पहाडी जिल्लामा धेरै बिकासका काम अगाडी बढाएका छौँ उनले भने “पहाडी जिल्लामा सडक, पुल, स्वास्थ्यचौकी, बिद्यालय लगायत निकै बिकास भएको छ, तराइका जिल्लामा नभएको होइन तर पहाडी भन्दा केही कम छ, र सकेसम्म प्रदेश सरकारले जनताका अपेक्षा पुरा गर्ने कोशिस गरेको छ ।”

एक हजार किलोमिटर सडक प्रदेश सरकारले पिच गरेको छ ५ बर्षमा उनले भने “सबै क्षेत्रमा उल्लेख्य काम भएका छन्, तर हामीले भने जस्तै बिकास जनतामा दिन सकेनौँ र प्रश्न उठिरहेका हुन्, बिविध समस्याका बावजुतपनि हामीले काम गरेका छौँ र स्थानिय तहसंगको सहकार्यले अँझै बिकासका काम हुने छन् ।

कैलालीपुलदेखि क्याम्स रोड (हुलाकी राजमार्ग) सम्मको २ दशमलव ३ किलोमिटर सडक कालोपत्रेका लागि यो रकम खर्च हुने छ । सडकको बिचबाट १५ मिटर दाँया र १५ मिटर बाँयाका भौतिक संरचना खाली हुँदैछन । प्रदेश सरकारले सडक निर्माणको तयारी गरे संगै उप महानगरलेपनि सो समयपभत्र संरचना खाली गरिसक्ने दावी गरेको छ । संरचना हटाउने काम आगामी १५ गतेभित्र सक्ने उप महानगरको तयारी छ ।

धनगढीको मुख्य निर्माणपछि रेलिङ तथा लाइटिङ समेत प्रदेश सरकारले निर्माण गर्ने छ । सो सडक निर्माण संगै कैलाली पुलदेखी चौराहा सम्मका सडक चौडा गर्नपनि आवश्यक तयारी थालिएको छ । सो सडक चौडा भएसंगै धनगढीको मुहार फेरिने छ ।