कैलालीमा बन्द भएको पूर्वपश्चिम राजमार्ग खुल्यो, दुई जना पक्राउ

कैलालीमा बन्द भएको पूर्वपश्चिम राजमार्ग खुल्यो, दुई जना पक्राउ

कैलालीमा बन्द भएको पूर्वपश्चिम राजमार्ग खुलाइएको छ । २४ मंसिरमा भारतीय नागरिकसँग भएको विवादका क्रममा कुटपिटबाट घाइते भएका युवकको मृत्यु भएपछि स्थानियले बन्द गरेको राजमार्ग खुलाइएको हो । 

जिल्लाको बर्दगोरिया गाउँपालिका–१ को कट्टीपुरका ४० वर्षीय लालबहादुर बोहराको कुटपिटबाट मृत्यु भएको हो। कट्टीपुरमा २४ मंसिरमा भारतीय नागरिकसँग भएको विवादका क्रममा कुटपिटबाट बोहरा घाइते भएका थिए। घाइते भएपछि बोहरालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो।

तर, उपचारकै क्रममा हिजो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताए। डीएसपी जोशीकाअनुसार बजार नजिकैको पसलमा भारतीयले पार्किङ गरेको विषयमा विवाद भएपछि बोहरामाथि कुटपिट भएको थियो। बुधबार बिहानैदेखि कुटपिटबाट मृत्यु घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध पारेपछि विभिन्न ठाउँबाट गन्तव्यका लागि छुटेका सवारीसाधनसमेत ठप्प बनेका थिए।

तर, अहिले भने दोषिमाथि कारबाही गर्ने सहमति गरेर राजमार्ग खुलाइएको छ। त्यस्तै उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–४ का सुरेन्द्र डगौरा र श्रवण चौधरी रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।