तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा श्रीमतीले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा श्रीमानको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार बुधबार साँझ ९ः ३० बजे पोखरा महानगरपालिकाको सिसुवा स्थायी घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका ४ प्रगति टोलमा डेरा गरी बस्ने ४० वर्षीय मन बहादुर नेपालीलाई श्रीमतीले ढुङ्गाले टाउकोमा हानी हत्या गरेकी हुन् ।
३६ वर्षीया सुशीलाले मादक पदार्थ सेवन गरी घरायसी कुराहरुमा विवाद हुदाँ ढुङ्गाले श्रीमानको टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएकोमा उनको उपचारको क्रममा ११ बजे जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र तनहुँमा मृत्यु भएको हो ।
उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।