नेपाली मुलका भारतीय निर्देशक प्रवीण झाद्वारा निर्देशित फिल्म ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको २ मिनेट २३ सेकेन्ड लम्बाईको ट्रेलरमा प्रेम र द्वन्द्व दुईटा पाटोलाई देखाइएको छ । ट्रेलरको आधा भाग प्रेममय छ भने आधा भाग द्वन्द्वका दृश्यले भरिएको छ । ट्रेलरमा मेकिङ क्वालिटी उच्च देखिन्छ ।
पेशाले नर्स उपासना सिंह ठकुरीलाई बढी उमेर भएको केटासँग प्रेम गाँस्न रुचि छैन । संयोगबस् ३५ वर्षे आर्यन सिग्देल उनको पछि पर्छन् । विस्तारै उपासना पनि उनको प्रेममा डुब्छिन् । तर, केही कुराले उनीहरुको सम्बन्ध विग्रन्छ । त्यसैबेला अस्पतालमा एक घटना घट्छ, जसले उपासना समस्यामा पर्छिन् । र, उनलाई बचाउन आर्यन युद्धभूमिमा होमिन्छन् । ट्रेलरमा यिनै कुरा छन् ।
ट्रेलरको कटिङ शैली हेर्दा साउथ इन्डियन फिल्मको स्टाइल पछ्याउन खोजेको भान हुन्छ । ब्याकग्राउन्ड स्कोरको काम नौलो र पृथक लाग्न सक्छ । महेश आर गुप्ताका छायांकन पक्ष ट्रेलरमा प्रशंसनीय छ । आर्यनको कमेडी टाइमिङ, रोमान्टिक अवतार र एक्सनले ट्रेलर रोचक बनेको छ । ट्रेलरमा सलोन बस्नेत, नरेश भट्टराई, शिवहरी पौडेललगायतका कलाकारहरु पनि देखिएका छन् ।
रामप्रसाद रिजालले निर्माण गरेको फिल्ममा सुमन थापा, शिशिर राणा, गीता अधिकारी, नागेन्द्र रिजाल, जयना कुँवर, सुमन थापा, सुमिन गुरुङ, किशन सुनुवारलगायतको पनि अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् ।
आगामी पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रविण सिंहको कोरियोग्राफी छ । फिल्मलाई सुनिल मानन्धरको कम्पनी श्रीराम बालाजी फिल्मस्ले देशभर वितरणको जिम्मा लिएको छ ।