बाजुरा अस्पतालमा चिकित्सक नहुँदा बाटोमै जन्मियो बच्चा, एमडिजिपी डाक्टर रोक्न बझाङका सांसद सक्रिय

बाजुरा अस्पतालमा चिकित्सक नहुँदा बाटोमै जन्मियो बच्चा, एमडिजिपी डाक्टर रोक्न बझाङका सांसद सक्रिय

बाजुरा । जिल्ला अस्पताल बाजुरामा सुरक्षित प्रसूति गराउने चिकित्सक नहुँदा अछाम रेफर भएकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छन्। गौमुल गाउँपालिका ३ माँझपालिकी २१ वर्षीया भाँग्य चँदारालाई स्थानीय स्वास्थ्य चौकीले जिल्ला अस्पताल पठाएको थियो। अस्पतालमा आकस्मित प्रस्तूति दिने डाक्टर नभएपछि अछाम रेफर गरियो। 

गाडीमा ३ घन्टाभन्दा बढी समय लाग्ने अछामको बयालपाटा अस्पताल नपुग्दै उनले बाटोमै बच्चा जन्माएकी हुन्। बुढीगंगा नगरपालिकाको बार्जुगाड नजिकै बाटोमै बच्चा जन्माएको गौमुल गाउँपालिकामा कार्यरत अनमी रमा थापाले बताइन्।

अस्पतालमा स्थायी दरबन्दीका चिकित्सक नरहेको र करार राखिएका डाक्टरहरु बिदामा बस्दा आकस्मिक प्रसूति सेवा रोकिएको अस्पतालका अध्यक्ष मानबहादुर कार्कीले बताए। करारमा राखिएका चिकित्सकहरु डा सुनिल कमार शाह, डा बिपुल चौधरी र डा जस्मिता बलमपाकी बिदामा छन्। बाजुरामा सुरक्षित प्रसूती सेवा नपाउाँदा ३ वर्षमा ८ जना सुत्केरीको मृत्यु भइसकेको छ। 

एमडिजिपी डाक्टर रोक्न बझाङका सांसद सक्रिय

बाजुरामा झन्डै ६ वर्षदेखि एमडिजीपी चिकित्सक छैनन्। अनिवार्य आवश्यकता भन्दै पटक पटक स्वास्थ्य मन्त्रालयमा पहल गरिएको अध्यक्ष कार्की बताउँछन्। अध्यक्ष कार्की र बडिमालिका नगरपालिका प्रमुख अमर खड्काले पटक पटक स्वास्थ्य मन्त्रालयलाई दबाब दिएपछि मन्त्रालयले एकजना एमडिजिपी डाक्टर पठाउने निर्णय गरेको छ। 

निक साइमन इन्सिच्युटको सहयोगमा अध्ययन गरेका डा प्रेरित देवकोटालाई बाजुरा अस्पताल सरुवा गरिएको हो। बाजुरा जानका लागि उनले यसअघि कार्यरत अस्पतालबाट बिदा लिएर बाजुराको नियुक्ति बुझेका छन्। अध्यक्ष कार्की आफैं स्वास्थ्य मन्त्रालय पुगेर त्यसका लागि पहल गरेका हुन्। 

तर डा देवकोटाको सरुवा भएको जानकारी पाउनेबित्तिकै जिल्ला अस्पताल बाजुराका प्रमुख रहेका डा मिलन जोशी रोक्न सक्रिय देखिएका छन्। जोशीले आफ्ना नातेदार रहेका बझाङबाट निर्वाचित एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीमार्फत् देवकोटालाई रोक्न दबाब दिएका हुन्। 

दक्ष तथा आफूभन्दा वरिष्ठ चिकित्सक आउँदा आफ्नो हालीमुहाली नहुने भन्दै उनी रोक्न सक्रिय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले पनि देवकोटाको सरुवा रोक्न आफूलाई माथिल्लो तहबाटै दबाब आउन थालेको बताए। उनले भने, ‘सरुवा रोक्न दबाब आएको छ। तर दुर्गममा जान तयार डाक्टरलाई रोक्नुहुँदैन भनेर हामीले भनिरहेका छौं। उहाँलाई हामीले पत्र दिइसकेकाले जानुहुन्छ।’

यसअघि पनि एकजना डाक्टर जिल्ला जान तयार भएपनि डा जोशीले रोक्न लगाएका थिए। यसैगरी स्वास्थ्य मन्त्रालयले बाजुरा खटाएका एक डाक्टरले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको पावर लगाएर अन्तै सरुवा मागेका थिए। 

हाल बाजुरा सरुवा भएका एमडिजिपी डाक्टर देवकोटाले पुस २ गते काठमाडौंबाट बाजुरा जाने बताए।