‘स्कुल बस’ दिने मुख्य मन्त्रीको घोषणा अधुरै

‘स्कुल बस’ दिने मुख्य मन्त्रीको घोषणा अधुरै

बैतडी । नेपाल सरकारले घोषणा गरेको बैतडीको नमुना ज्ञानेश्वर माध्यमिक विद्यालयलाई बस उपलब्ध गराउने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको घोषणा अधुरै रहेको छ । बिहीबार विद्यालयको ४८औँ वार्षिकोत्सव समारोहमा शिक्षक, अभिभाव र विद्यार्थीले मुख्यमन्त्रीको घोषणालाई स्मरण गर्दै बस चढ्ने सपना अधुरै रहेको बताएका छन् । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तीन वर्ष अघि  ज्ञानेश्वर नमुना विद्यालयको ४६औँ वार्षिकोत्सवमा प्रमुख अतिथि बनेर हिँडेर विद्यालय आउने विद्यार्थीका लागि स्कुल बस दिने घोषणा गर्नु भएको थियो । मुख्यमन्त्रीको कार्यकाल सकिने बेलासम्म पनि स्कुल बस नपाएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश विष्टले मुख्यमन्त्रीलाई फोन गरेर स्कुल बसको बाचा स्मरण गराएको बताउनुभयो । 

उहाँले भन्नुभयो,“ बिहीबार ज्ञानेश्वर माविको ४८औँ वार्षिकोत्सव मनायौँ । विद्यालयमा अहिले ५५०भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । नमुना विद्यालयमा अध्ययन गर्न विद्यार्थीहरू दुई घण्टा टाढाबाट समेत हिँडेर आउने गरेका छन् । तीन वर्ष अघि मुख्यमन्त्री आफै यहाँ आएर स्कुल बस दिने घोषण गर्नुभएको विषय फोन गरेर स्मरण गरायौँ ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्टका अनुसार फोनमार्फत मुख्यमन्त्रीले स्कुल बस दिने घोषण गर्दा कार्यविधि नबनेका कारण कर्मचारीले असहयोग गरेको जानकारी दिनुहुँदै अहिले कार्यविधि बनिसकेकाले आफू मुख्यमन्त्रीबाट बिदा हुन लागे पनि विद्यालयले बस पाउने आश्वासन दिनुभएको छ । २०७६ साल मङ्सिर २९ गते विद्यालयको वार्षिकोत्सवमा प्रमुख अतिथिका रूपमा आउनु भएका मुख्यमन्त्री भट्टले विद्यालयलाई प्रदेश सरकारले एउटा बस किनेर उपलब्ध गराउने घोषणा गर्नु भएको थियो । 

मुख्यमन्त्रीले विद्यालयको प्राङ्गणमै आएर बस किनेर दिने घोषणा गर्दा यहाँ पठनपाठन गर्ने विद्यार्थी निकै खुसी भएका थिए । बस दिने घोषणा गरेको तेस्रो बितिसक्दा पनि बस नआउँदा निराश बन्नु परेको विद्यार्थीले बताएका        छन् । बैतडीको पाटन नगरपालिका–९, विजयपुर खोड्पेमा रहेको ज्ञानेश्वर माध्यमिक विद्यालय बैतडीकै पहिलो नमुना सरकारी विद्यालय हो । यहाँ कक्षा ९देखि १२ सम्म ओभरसियर विषयको प्राविधिक पढाई हुने गरेको विद्यालयले जानकारी दिएको छ ।  नमुना विद्यालय भएका कारण टाढाका विद्यार्थी भर्ना हुने दर वार्षिक रूपमा वृद्धि भई रहे पनि बस नहुँदा डेढ घण्टाको पैदल दूरी हिँडेर विद्यालय आउनु पर्ने समस्या भोग्नु परेको विद्यार्थीले बताएका छन् । 

टाढाका विद्यार्थीलाई लक्षित गरेर छात्रावास निर्माणका लागि पहल भइरहेको विद्यालय व्यवस्थापन समितिले जानकारी दिएको छ । खेल मैदान, वाल उद्यान र प्राविधिक विषयको पढाइ हुने भएकोले ज्ञोनेश्वर नमुना विद्यालयमा विद्यार्थीको आकर्षण बढेको पाइएको छ ।