बैतडीमा सुरक्षित सुत्केरी गराउने बढे

बैतडीमा सुरक्षित सुत्केरी गराउने बढे

बैतडी । बैतडीमा स्वास्थ्य चौकी र प्रसूति केन्द्रमा सुत्केरी हुने आमाको सङ्ख्या बढेको छ। पछिल्लो तीन आर्थिक वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको सङ्ख्या ६४ प्रतिशतबाट बढेर ८१ प्रतिशत पुगेको छ। 

आर्थिक वर्ष २०७६/७७ मा ६४.२ प्रतिशत संस्थागत सुत्केरी रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सुत्केरी हुनेको सङ्ख्या ८१.९ प्रतिशत पुगेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो। 

स्वास्थ्य कार्यालय र स्थानीय तहले घरमा हुने सुत्केरी शून्य पालिका घोषणा अभियान सञ्चालन गरेका कारण संस्थागत सुत्केरीको सङ्ख्या बढ्दै गएको स्वास्थ्य प्रमुख भट्टले बताउनुभयो। उहाँले संस्थागत सुत्केरीको सङ्ख्या बढ्दै गएपछि मातृशिशु मृत्यु दर पनि घट्दै गएको बताउनुभयो। 

स्वास्थ्य कार्यालय बैतडीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउनेको सङ्ख्या पनि बढ्दै गएको पाइएको छ। आर्थिक वर्ष २०७५/७६ मा गर्भ जाँच गराउनेको सङ्ख्या ६२.४ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा सो सङ्ख्या बढेर ७९ प्रतिशत पुगेको छ।

त्यस्तैगरी, गर्भ रहेको १८० दिन आइरन चक्की सेवन गर्ने महिलाको सङ्ख्या पनि बढ्दै गएको छ। दुई वर्षअघि नियमित आइरन चक्की सेवन गर्ने महिलाको सङ्ख्या ६१.९ प्रतिशत रहेकोमा यो वर्ष उक्त सङ्ख्या बढेर ७८.२ प्रतिशत पुगेको छ। आइरन चक्कीको सेवनले गर्भवती महिलालाई रक्तअल्पता हुनबाट बचाउने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।