सुदूरपश्चिम प्रदेशमा काँग्रेस संसदीय दलको नेता बन्न ६ जना आकाङ्क्षी

सुदूरपश्चिम प्रदेशमा काँग्रेस संसदीय दलको नेता बन्न  ६ जना आकाङ्क्षी

धनगढी । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ बाट सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठुलो दल बनेको नेपाली काँग्रेस भित्र संसदीय दलको नेताका लागि गृह कार्य थालिएको छ । नेपाली काँग्रेसमा मुख्यमन्त्रीका आकाङ्क्षी, प्रदेशसभा सदस्यहरू संसदीय दलको नेता बन्न कसरत थालेका हुन् । 

काँग्रेसको विधानअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले आकाङ्क्षीहरूले लबिङ थालेका छन् । २०७४ को निर्वाचनमा तेस्रो दल बनेको काँग्रेस यस पटक सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ७ सहित जम्मा १९ सिट पाएर पहिलो बनेको छ । 

प्रदेश सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग गर्दै आएको नेपाली काँग्रेसका प्रदेशसभा सदस्यहरूले संसदीय दलको नेता बन्न कसरत गरिरहेका छन् । अहिलेसम्म ६ जना आकाङ्क्षी देखिएका बेला संसदीय दलको नेता बन्न सर्वसम्मत चयन होला वा मतदान होला भन्ने चासो बढेको छ । संसदीय दलको नेताका लागि काँग्रेसका प्रदेशसभा सदस्यहरू भेटघाटलाई तीव्रता दिइरहेका छन्।

काँग्रेसमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवा सहित बहादुर सिंह थापा, दिवानसिंह विष्ट, कमल बहादुर शाह, प्रकाश बहादुर बम र मेघराज खड्का गरी ६ जना नेता मुख्यमन्त्रीको दाबेदारका रूपमा देखिएका छन् । 

जस अनुसार कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित बहादुर सिंह थापा, कञ्चनपुरकै निर्वाचन क्षेत्र नं. १ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित दिवानसिंह बिष्ट, काँग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री समेत रहेका अछाम निर्वाचन क्षेत्र नं. १(१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित मेघराज खड्का, कैलाली निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित कमल बहादुर शाह, कैलाली निर्वाचन क्षेत्र नं. ४ (२) बाट निर्वाचित प्रकाश बहादुर बम र कैलाली निर्वाचन क्षेत्र नं. ५ (२) बाट निर्वाचित प्रकाश बहादुर देउवाको नाम संसदीय दलको नेताका लागि चर्चामा छ ।