सातवटै प्रदेश सभाका अधिवेशन १८ पुसभित्र आह्वान हुने

सातवटै प्रदेश सभाका अधिवेशन १८ पुसभित्र आह्वान हुने

काठमाडौं । आगामी १८ पुसभित्र सातवटै प्रदेश सभाका अधिवेशन आह्वान गरिसक्नुपर्ने हुन्छ । प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिनभित्र अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । २८ मंसिरमा आयोगले अन्तिम परिणाम घोषणा गरेकाले प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले १८ पुसभित्र अधिवेशन आह्वान गरिसक्नुपर्नेछ । 

संविधानको धारा १८३ (१) मा प्रदेश प्रमुखले प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ । आयोगले प्रतिवेदन प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाएसँगै सातवटै प्रदेश सभा सचिवालयले सांसदहरूलाई शपथग्रहण गराउने तयारी थालेका छन् । 

निर्वाचन आयोगले आइतबार प्रतिनिधिसभाका साथै प्रदेश सभाका समानुपातिक सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिएपछि शपथ हुनेछ । ४ मंसिरमा सम्पन्न मतदानबाट प्रतिनिधिसभामा दुई सय ७५ र प्रदेश सभामा पाँच सय ५० सदस्य निर्वाचित भएका छन् । 

निर्वाचन आयोगले प्रदेश प्रमुखहरूलाई चुनावको अन्तिम परिणामसहितको प्रतिवेदन बुझाएसँगै सरकार गठनको बाटो खुलेको छ । अब प्रदेश प्रमुखले सरकार गठनको आह्वान गर्न सक्छन् । संविधानको धारा १६८ (३) मा अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र सरकार गठन भइसक्नुपर्ने व्यवस्था व्यवस्था छ ।

सातवटै प्रदेश सभामा कुनै पनि दलको बहुमत नभएकाले प्रदेश प्रमुखले १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्नेछ ।